दार्चुला । व्यास गाउँपालिका–१ छाङरुमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्ममा कार्यरत सशस्त्र प्रहरीको पहिलो पटक स्वास्थ्य परीक्षण गरिएको छ । चिसो मौसममा बसेका ४० जना सशस्त्र प्रहरीका साथै स्थानीयहरुको स्वास्थ्य परीक्षण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले जनाएको छ ।
नेपाल सरकारले कालापानी भन्दा १२ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरेपछि यो वर्ष पहिलो पटक चिसोयाममा सुरक्षाकर्मीको उपस्थिति रहेको छ । सशस्त्र प्रहरी निरीक्षक एवं चिकित्सक रेनिस भट्टराई नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरेको सशस्त्र प्रहरी दार्चुलाका गणपति नरेन्द्र बमले जानकारी दिनुभयो । उक्त टोलीले ४० जना सशस्त्र प्रहरीका साथै छाङरुमा कार्यरत आठ जना नेपाल प्रहरी र सात जना सर्वसाधारणको समेत स्वास्थ्य परीक्षण गरेको गणपती बमले बताउनुभयो ।
जमिनबाट १० फिट उचाइसम्म हिउँ पर्ने व्यास गाउँपालिका–१ छाङरुमा पहिलो पटक बाह्रैमास सशस्त्र प्रहरीको उपस्थिती भएसंगै नेपाल प्रहरी र दुई परिवार स्थानीय समेत छाङरुमै बसेका छन् । विगत वर्षहरुमा स्थानीयहरु चिसो छल्न खलंगा झरेसंगै नेपाल प्रहरी पनि बेँसी झर्दा सीमा क्षेत्र छ महिना सुरक्षाविहिन हुने गरेको थियो । अहिले छाङरुमा सशस्त्रको गुल्म र व्यास गाउँपालिका–२ दुम्लीङको बीओपीमा सुरक्षाकर्मी तैनाथ छन् । चिकित्सकको टोलीले दुम्लीङस्थित बीओपीमा कार्यरत १५ जना सशस्त्र प्रहरी र २० जना स्थानीयको समेत स्वास्थ्य परीक्षण गरेको छ । पहिलो पटक सीमा क्षेत्रको सशस्त्र प्रहरी कार्यालयमा स्वास्थ्य सेवा पाएपछि सुरक्षाकर्मीका साथै स्थानीय खुसी भएका छन् ।
सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूमि समेटेर नक्सा जारी गरेपछि सीमा सुरक्षाका लागि छाङरुमा गत वैशाखमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको थियो । सोही बीओपीलाई गुल्ममा स्तरोन्नती गरेर जनशक्ति थप गरिएको छ । तर प्रहरीका लागि सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण भएको छैन् । सशस्त्र प्रहरी बाह्रैमास छाङरुमा राखेपछि स्थानीयलाइ समेत गाउँमै बस्न सहज भएको छ । राष्ट्रसेवाका लागि सीमामा तैनाथ भएपनि पुर्वाधार, बन्दोबस्ती, लुगाकपडा, औषधी उपचार लगायत सेवा, सुविधा व्यवस्थापनमा राज्यको ध्यान नपुगेको सुरक्षाकर्मीहरुको गुनासो छ ।




