दार्चुलामा धुमधामसंग मनाइदै विसु पर्व, यसकारण लगाइन्छ सिस्नु

दार्चुला । नयाँ वर्षको प्रथम दिन दार्चुलामा धुमधामसंग विसु पर्व मनाइदै छ । नौगाड गाउँपालिकाको सिप्टी र मार्मा गाउँपालिकाको घोल्जर सहित जिल्लाभरी हर्षोउल्लासका साथ विसु पर्व मनाउने गरिन्छ ।

मार्मा क्षेत्रमा विसुको अवसरमा पूजापाठसहित जात्रा लाग्ने गरेको छ । स्थानीय देउडा खेलको लागि विसुमा भीड लाग्ने गरेको नौगाडका स्थानीय जमन डडालले जानकारी दिनुभयो । गत वर्ष कोरानाकाबीच पनि दार्चुलामा विसुपर्व मनाइएको थियो । अहिले पनि कोरोना कहर बढ्दै गएको भन्दै भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय र मार्मा गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेपनि धुमधामसहित विसु मनाइएको उहाँले बताउनुभयो । विसुका लागि कामको सिलसिलामा भारत गएका सयौँ युवाहरु समेत घर फर्किएका छन् ।

चाडबाडमा धनी सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्लामा नयाँ वर्षका दिन विसु पर्व मनाउने चलन छ । मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नो लगाएर मनाइने यस पर्वलाई विसु, विस्का वा विस्पती पर्व पनि भनिन्छ । पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ । विसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ । बच्चा, बिरामीदेखि वृद्ध सबैले विसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिएको छ ।

यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफापानीले पखाल्दै जानुपर्ने स्थानीय संस्कृतिका जानकार इन्द्रदेब जोशीले बताउनुभयो । यति भनेर सफासँग नुहाइधोइ गरेपछि वर्षभरि आफूलाई रोग लाग्दैन भन्ने सकारात्मक भावना मन भित्र पैदा हुने गरेको उहाँको भनाई छ ।

वसन्त ऋतुको रमझम, खुलेको आकाश, पालुरको समय, गहुँ पाक्ने समय, जताततै हरियालीका बिच नयाँ वर्षको सुरुवातसंगै विसु पर्व मनाएर रमाइलो गर्ने चलन रहेको छ । विसुको प्रमुख विशेषता नुहाइ सकेपछि शरीरमा सिस्नु लगाउने गरिएको छ । सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने जनविश्वास रहेको छ । सिस्नो लगाउनुका साथै जिल्लाभरी घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर विसु मनाइएको छ ।

विसुमा देवर र नन्दले भाउजूलाई खोजीखोजी पानीमा चोपेको सिस्नु लगाएर रमाइलो गरिएको मार्माका स्थानीय खडक धामीले बताउनुभयो । धेरैजसो मनमुटाव भइरहने नन्द भाउजूको नातालाई यो पर्वले कसिलो बनाउने विश्वास गरिन्छ । फागुनमा शिवरात्री, चैतमा होली, रामनवमी, बिहे भइसकेर घरजम गरी माइतीको यादमा तड्पिने छोरीचेलीलाई चैत महिनाभरि माइतीपक्षबाट कोसेली बोकी भेट्न जाने चैतेलो, विसु पर्वजस्ता सुदूरपश्चिम प्रदेशका अलौकिक चाडपर्वहरूले सबैमा धार्मीक सहिष्णुता, सद्भाव, भेटभाट, मेलमिलाप बढाउँदै आएको छ ।

यो पनि पढ्नुहोस : फर्केर हेर्दा वर्ष २०७७…

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?