दार्चुलामा ९ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

दार्चुला । दार्चुलामा ९ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप दिइने भएको छ । यही माघ २२ गतेदेखि संञ्चालन हुने एचपीभी खोप अभियान अन्तरर्गत जिल्लाभरीका ९ हजार बढी किशोरीहरुलाई खोप दिने तयारी भएको हो ।

देशैभर सञ्चालन हुने अभियान अन्तर्गत दार्चुलामा पनि खोप अभियान सञ्चालन हुने र यसको तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले बताउनुभयो ।

अभियान अन्तर्र्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने उहाँले जानकारी दिनुभयो।

खोप अभियानको तयारी स्वरुप अहिले जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । माघ ११ गतेसम्म तालिम सञ्चालन हुने बताइएको छ ।

दार्चुलामा १ सय ३० ओटा माध्यमिक विद्यालय र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिनुभयो।

खोप अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाका साथै विद्यालयका शिक्षिकाहरुलाई समेत तालिम दिने योजना रहेको उहाँले बताउनुभयो।

पाठेघरको मुखमा हुने क्यान्सरको बिरामीको सङ्ख्या र ज्यान गुमाउनेको सङ्ख्या नेपालमा वर्षेनि बढ्दै गएको छ । महिलामा हुने क्यान्सरमध्ये नेपालमा यो पहिलो नम्बरमा र विश्वमा हुने क्यान्सरहरुमा यो चौथो स्थानमा छ ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्याङ्कअनुसार यो क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । त्यसैगरी हरेक वर्ष तीन लाख ११ हजार महिलाले यसैका कारण ज्यान गुमाउने र सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान गइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट ज्यान जाने अनुमान छ । पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?