आजदेखि एचपिभी खोप अभियान: ढुक्क भएर लगाउन आग्रह

दार्चुला ।आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ ।

दार्चुलामा पनि मंगलबार (आज) देखी माघ २८ गते सम्म अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।

महाकाली नगरपालिकामा मंगलबार आज देखि माघ २८ गते सम्म, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, नौगाड गाउँपालिका र ब्याँस गाउँपालिकामा माघ २२ गते (आज) देखि माघ २६ गते सम्म अभियान सञ्चालन हुने छ भने, लेकम, दुहुँ, मार्मा र अपिहिमाल गाउँपालिकामा माघ २५ गते सम्म अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी भाइरस हो । यो भाइरसको दुई सयभन्दा बढी किसिमका प्रजाति हुन्छन् र तीमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । नेपालमा १६ र १८ प्रजातिका भाइरसले ८० प्रतिशतले पाठेघरको मुखको क्यान्सर गराउने अध्ययनले देखाएको छ ।

सरकारले अभियानमा लगाउन लागेको एचपिभी विरुद्धको खोपले १६ र १८ प्रजातिबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त हुनुका साथै औषधी व्यवस्था विभागले समेत स्वीकृत गरेको हुँदा यो खोप सुरक्षित र प्रभावकारी भएको उहाँले बताउनुभयो ।

यो खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी हुने अध्ययनले देखाएको छ । यो खोप लक्षित किशोरीलाई एक मात्रा डोज दिए पुग्ने तथा खोप लक्षित समूह बाहेक अन्य व्यक्ति, गर्भवती, यस अघि कुनै खोप लगाउँदा गम्भीर एलर्जी भएको व्यक्तिले भने लगाउन नहुने डा. गौतमले बताउनुभयो ।

दार्चुलामा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ७ हजार २ सय ६४ जना किशोरीलाई खोप लगाइने छ  । खोप अभियान प्रभावकारी बनाउन जिल्लाभर २२८ वटा खोप केन्द्र तोकिएका छन् ।

खोपले कुनै असर नगर्ने भएकोले ढुक्क भएर खोप लगाउन स्वाथ्य कार्यालय दार्चुलाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?