दार्चुला । नेपाल-भारत विकास सहयोग कार्यक्रम अन्तरगत दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ मा निर्माण भएको इयरकोट स्वास्थ्य चौकीको भवन उद्घाटन गरिएको छ ।
नेपाल–भारत विकास सहकार्य’अन्तर्गत दुई करोड ५३ लाख ६० हजार रुपैया लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवनको भारतीय राजदुतावास काठमाडौंका काउन्सलर अविनाश कुमार सिंह र नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
भारतीय राजदुतावासको सहयोग र नौगाड गाउँपालिकाको साझेदारीमा निर्माण भएको उक्त भवन हस्तान्तरण कार्यक्रममा भारतीय राजदुतावास काठमाडौंका काउन्सलर अविनाश कुमार सिंह, नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी, उपाध्यक्ष जगतसिंह ठगुन्ना, प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी लगायत जनप्रतिनिधि, कर्मचारी, समाजसेवी, बुद्धिजीवी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
भवन उद्दघाटन कार्यक्रममा नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरिएको थियो । भारत सरकारको अनुदानमा स्वास्थ्यचौकी भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रदानमा सहजता हुने गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रूपमा गाउँपालिकामार्फत स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । भवन निर्माणपछि दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवासुविधा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरिएको छ ।
यसअघि शुक्रबार शैल्यशिखर नगरपालिका–८ स्थित गलैनाथ मावि झरकाँडाको भवन उद्दघाटन गरिएको थियो । ४ करोडको लागतमा निर्माण भएको उक्त भवनमा ८० प्रतिशत लगानी भारत सरकारले दूतावासमार्फत गरेको थियो भने २० प्रतिशत लगानी शैल्यशिखर नगरपालिकाले गरेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया