दार्चुला । दार्चुलामा फागुन १८ गतेबाट २५ गतेसम्म निःशुल्क परिवार नियोजन सम्बन्धि स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा नेपाल परिवार नियोजन सघं बैतडी शाखाको सहकार्यमा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार फागुन १८ गते जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा परिवार नियोजन सम्बन्धि स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुनेछ । त्यस्तै १९ गते नौगाड गाउँपालिकाको नौगाड आधारभूत अस्पताल जामिरमा, २० गते शैल्यशिखरको गोकुलेश्वर अस्पतालमा २१ गते मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा शिविर सञ्चालन हुने कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।
त्यस्तै फागुन २३ गते व्याँस गाउँपालिकाको हुती स्वास्थ्य चौकीमा र २५ गते दार्चुला जिल्ला अस्पताल दार्चुलामा शिविर सञ्चालन हुने उहाँले बताउनुभयो । सन्तानको रहर पुगि सकेका महिला तथा पुरुषहरुको लागि निःशुल्क स्थायी बन्ध्याकरण शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।




