दार्चुला । आज विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईएको छ। क्षयरोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ नाराका साथ दिवस मनाईएको हो ।

दार्चुलामा चालु आर्थिक बर्षको फागुन महिना सम्म ९९ जना क्षयरोगका बिरामीले निःशुल्क उपचार सेवा लिइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा गरि अहिले ९९ जना क्षयरोगका बिरामीले निःशुल्क उपचार सेवा लिइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका क्षयकुष्ठ रोग सुपरभाइजर निरिक्षक देवराज जोशीले बताउनुभयो ।

अहिले जिल्ला भरिका ३६ जना महिला र ६३ जना पुरुषले क्षयरोगको निःशुल्क उपचार सेवा लिइरहेका छन । स्थानीय तहअनुसार जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढी ४० जना क्षयरोगका बिरामी रहेका छन।

त्यस्तै मालिकार्जुन गाउँपालिकामा २० जना, शैल्यशिखर नगरपालिकामा ११ जना, नौगाड गाउँपालिकामा ९ जना, ब्याँस गाउँपालिकामा ६ जना क्षयरोगका बिरामीले निःशुल्क रुपमा औषधी उपचार सेवा लिईरहेका छन। त्यस्तै दुँहु गाउँपालिकामा ५ जना, मार्मा गाउँपालिकामा ४ जना, अपिहिमाल गाउँपालिकामा ३ जना र लेकम गाउँपालिकामा १ जना क्षयरोग संक्रमित रहेको जोशीले बताउनुभयो ।

क्षयरोग संक्रमितहरुका लागि निःशुल्क रुपमा औषधी उपचार सेवा प्रदान भइरहेको छ। अहिले बिरामीको अवस्था हेरेर ६ देखि १० महिना सम्म औषधी सेवन गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले जिल्लाका १६ वटा स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको निःशुल्क परीक्षण हुने गरेको छ। जिल्ला अस्पताल दार्चुलामा (जि–एक्सपट) एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा क्षयरोगको परीक्षण भइरहेको छ भने, अन्य १५ वटा स्वास्थ्य संस्थामा शुक्ष्मदर्शक यन्त्रको प्रयोग गरेर क्षयरोगको परीक्षण गर्ने गरिएको छ।

जिल्ला अस्पतालमा परीक्षण गरिने प्रविधिबाट क्षयरोग संगै औषधीले काम गर्छ या गर्दैन भनेर समेत पत्ता लगाउन सकिने उहाँले बताउनुभयो । अहिले जिल्ला भरिका ६२ वटा स्वास्थ्य संस्थाहरुबाट क्षयरोगको निःशुल्क औषधी उपचार सेवा प्रदान भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

तीन हप्ता वा त्योभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा, धेरै पसिना आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन  पनि उहाँले आग्रह गर्नुभयो ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध प्रयोग गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा नखाएमा रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२३ मा नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २ सय २९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको ज्यान गएको अनुमान छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो ।

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने सरकारले लक्ष्य राखेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?