
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ ले खरिद गरेको एम्बुलेन्स परीक्षण पछि स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएको छ । केहि समय पहिला खरिद गरेर काठमाडौँमा रहेको एम्बुलेन्सलाई मंगलवार (आज) परीक्षण पछि स्वास्थ्य मन्त्रालयले सडक सञ्चालनको अनुमति दिएको शैल्यशिखर नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष तथा नगरप्रवक्ता भरत बहादुर खडायतले जानकारी दिनुभयो ।
बैशाख ५ गते काठमाडौँबाट यातायात विभाग धनगढीमा ल्याएर एम्बुलेन्समा नम्बर प्लेट तथा आवश्यक स्वास्थ्य उपकरण जडान गरिने उहाँले बताउनुभयो । बैशाख १० गतेबाट एम्बुलेन्स सञ्चालनमा आउने उहाँले बताउनुभयो ।
एम्बुलेन्स सञ्चालनमा आएपछि शैल्यशिखर नगरपालिका सहित मार्मा र नौगाड तथा बैतडीको डिलासैनी गाउँपालिकाका स्थानीयहरुले सेवा पाउने शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले बताउनुभयो । नगरपालिकाबाट वडालाई प्राप्त बजेटबाट एम्बुलेन्स खरिद गरेकोमा स्थानीयले वडाअध्यक्ष भरत बहादुर खडायतका साथै नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत तथा वडा र नगरपालिका परिवारलाई धन्यवाद दिएका छन् ।

पत्रकार मिश्र लोकदर्पण मिडियाका लागि सामाजिक र समसामयिक विषयमा कलम चलाउछन् ।