दार्चुला । प्रतिनिधिसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित भएको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयक प्रतिनिधिसभाको आजको बैठकले सर्वसम्मतिले पारित गरेको हो। त्यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षाको मात्रै नभएर स्वास्थ्यको पनि केन्द्र बनोस् भन्ने उद्देश्यले सह-कुलपतिमा शिक्षा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राख्ने व्यवस्था गरिएको थियो ।
सांसद तथा उद्योग मन्त्री दामोदर भण्डारीले निरन्तरको प्रयासपछि सरकार र संसदले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१’ पारित गर्न सकारात्मक भूमिका खेलेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरोकारवाला सबैको प्रशंसा गर्नुभयो । छलफलका क्रममा सांसद दिलेन्द्रप्रसाद बडूले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय नमुना विश्वविद्यालयका रुपमा राज्यले विकास गर्नुपर्नेमा जोड दिनुभयो । सांसद योगेशकुमार भट्टराईले धेरै पहिलादेखि उठेको विषय सम्बोधन भएकोमा सरकारले सुदूरपश्चिमका जनतालाई न्याय गरेको बताउनुभयो। सांसद डा. अमरेशकुमार सिंहले सुदूरपश्चिमका जनतालाई बधाई दिँदै विकासमा विभेद भएको भन्दै मधेस–प्रदेशमा अहिलेसम्म एउटा पनि सरकारी मेडिकल कलेज नभएको उल्लेख गर्नुभयो । विधेयक पारित भएपछि सुदूरपश्चिमबासीले प्रधानमन्त्रीसहित सरकार र संसदको प्रशंसा गरेका छन् ।
सांसद प्रेम सुवालले सु.प. विश्वविद्यालय आवश्यकताबारे चर्चा गर्नुभएको छ। सांसद दामोदर पौडेल वैरागीले विश्वविद्यालय स्वास्थ्य शिक्षाका क्षेत्रमा सुदूरपश्चिमको क्षेत्र केन्द्रका रुपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। सांसद किरणकुमार साहले साहस र बलिदानको योगदानस्वरुप सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय खोल्नु गौरवपूर्ण कार्य भएको बताउनुभयो।
सांसद डा. चन्दा कार्की भण्डारीले सहिदका नाममा खोलिएको विश्वविद्यालयमा राजनीतिक भागबण्डाको विषय हुन नहुने र स्वास्थ्यका क्षेत्रमा सबैले मिलेर राम्रो बनाउनुपर्ने सुझाव दिनुभयो। सांसद देवेन्द्र पौडेलले अब बन्ने विश्वविद्यालयको नेतृत्व प्रतिस्प्रर्धाद्वारा छनोट गर्ने विषयलाई विधेयकमा समावेश गर्नुपर्ने धारणा राख्नुभयो। छलफलमा सांसद बिजुला रायमाझी, रामकृष्ण यादव, रामप्रकाश चौधरी, दयालबहादुर शाही, प्रेम आले र विराजभक्त श्रेष्ठले भाग लिएका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ५ गते बिहान ११ बजे बस्ने भएको छ।




