दार्चुला ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको गोकुलेश्वर अस्पतालमा मेसिन बिग्रिएर बन्द भएको अल्ट्रासाउण्ड सेवा अझै सञ्चालन भएको छैन । अस्पताल संग भएका तीन वटै अल्ट्रासाउण्ड मेसिन बिग्रिए पछि ४ महिना देखि अस्पतालमा अल्ट्रासाउण्ड सेवा बन्द रहेको छ।
अस्पताल संग रहेका दुई वटा अल्ट्रासाउण्ड मेसिन यस अघि नै बिग्रिएको र गत चैत्र महिनामा सेवा दिईरहेको एउटा मेसिन पनि बिग्रिएपछि ४ महिना देखि अल्ट्रासाउण्ड सेवा बन्द रहेको अस्पतालका सूचना अधिकारी जगदिश पण्डेले बताउनुभयो
मेसिन मर्मत नभए पछि बन्द रहेको अल्ट्रासाउण्ड सेवा पनि सञ्चालन भएको छैन । दैनिक ४०-६० जना सम्मलाई अल्ट्रासाउण्ड सेवा दिईरहेको जिल्लाको दोस्रो ठुलो अस्पतालमा मेसिन बिग्रिएको चार महिना हुँदा समेत मर्मत हुन नसक्दा बिरामी समस्यामा परेका छन् ।
अस्पताल संग तीन वटा अल्ट्रासाउण्ड मेसिन रहेको र अहिले तीन वटै मेसिन बिग्रीएको अस्पतालका सूचना अधिकारी पाण्डेले बताउनुभयो । “अस्पतालमा गर्भवती महिला बाहेक मात्रै दैनिक ४०-६० जना सम्मले अल्ट्रासाउण्ड सेवा लिन्थे, अहिले सेवा बन्द भएपछि बिरामीलाई फर्काउनुको विकल्प छैन” उहाँले भन्नुभयो ।
शैल्यशिखर नगरपालिका मातहत रहेको उक्त अस्पतालमा अल्ट्रासाउण्ड मेसिन बिग्रिएको लामो समय हुँदा समेत मर्मत नभएको अस्पतालका प्रमुख डाक्टर मनोज बहादुर पालले बताउनुभयो।
अस्पताल संग भएका मेसिन मर्मत गर्न नसक्दा बिरामीलाई सेवा दिन नसकिएको डाक्टर पालको भनाई छ । “अस्पतालमा भएका मेसिन मर्मतको लागि पठाएका छौ लामो समय सम्म मर्मत नहुँदा सेवा सञ्चालन गर्न सकिएको छैन” उहाँले भन्नुभयो ।
अल्ट्रासाउण्ड सेवा बन्द भएपछि अहिले सेवाग्राहीले महंगो शुल्क तिरेर निजी अस्पतालमा सेवा लिन बाध्य भएका छन् । लामो समय देखि अल्ट्रासाउण्ड सेवा बन्द हुँदा अस्पतालमा सेवा लिन आएका गर्भवती महिला र अन्य बिरामीहरुले चर्को शुल्क तिरेर निजी अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ ।
मेसिन मर्मत हुन नसक्दा अस्पतालमा आउने बिरामीको जाँचमै समस्या भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत शिव दत्त जोशीले बताउनुभयो । “अस्पतालसँग सुरुमा तीन वटा अल्ट्रासाउन्ड मेसिन थियो । दुई मेसिन यसअघि नै बिग्रिए, एउटा चैतदेखि बिग्रिपछि समस्या भएको छ” उहाँले भन्नुभयो । अहिले नगरपालिकाले नयाँ मेसिन मगाउने विषयमा छलफल गरिरहेको उहाँले बताउनुभयो ।
गोकुलेश्वर अस्पतालमा दार्चुलाका मात्रै नभइ सिमावर्ती बैतडीका सेवाग्राही समेत आउने गरेका छन् । अस्पतालमा भिडियो एक्सरे गर्नुपर्ने गर्भवतीको सङ्ख्या नै दैनिक १५–२० जना हुने गरेको अस्पतालका सूचना अधिकारी पाण्डेले बताउनुभयो ।




