दार्चुला । दार्चुलामा आइरन चक्की संगै परिवार नियोजनका अस्थाई साधनहरुको अभाव भएको छ ।
देशभर जस्तै दार्चुलामा पनि आइरन चक्की र पिल्स, कण्डम, तीन महिने सुई लगायतका परिवार नियोजनका साधनहरुको अभाव भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र प्रसाद भट्टले बताउनुयो । परिवार कल्याण महाशाखाका अनुसार पिल्स, कण्डम, तीन महिने सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको देशका विभिन्न ठाउँमा अभाव रहेको छ ।
यस्तै सरकारले गर्भवती तथा सुत्केरी आमालाई निःशुल्क रुपमा वितरण गर्दै आइरहेको आइरन चक्की धेरै स्वास्थ्य संस्थामा नपाउने अवस्था आएको छ। हाल स्थानीय तहले आफैं किनेर पनि आइन चक्की वितरण गर्दै आएका छन् । जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा आइरन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको रिठाचौपाता स्वास्थ्य चौकीमा पनि आइरन चक्कीको अभाव रहेको स्वास्थ्य चौकीमा कार्यरत सिअहेब अनिरुद्र मिश्रले बताउनुभयो ।
त्यस्तै शैल्यशिखर नगरपालिकाका स्वास्थ्य चौकीहरुमा पनि परिवार नियोजनका केही अस्थाई साधन र आइरनचक्कीको पनि सामान्य अभाव रहेको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत शिवदत्त जोशीले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कण्डम, सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको स्ट्रक नभएकाले नेपाल सरकारले माग अनुसार परिवार नियोजनका साधनको परिपूर्ति गर्न सकेको छैन । नेपाल सरकारले परिवार नियोजन कार्यक्रमका लागि आवश्यक अनुसार बजेट छुट्याउ नसक्दा दातृ निकायको भर पर्दै आएको छ ।





प्रतिक्रिया