दार्चुला । आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा दार्चुलाको नौगाड गाउँपालिका सुदूरपश्चिम प्रदेशमै दोस्रो स्थानमा आएको छ।
स्वास्थ्य निर्देशनालय डोटीले आयोजना गरेको एकीकृत वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये नौगाड गाउँपालिका दोस्रो स्थानमा पर्यो।
गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, सूचक सुधार तथा कार्यक्रम कार्यान्वयनमा देखाएको प्रभावकारी कामकाजका कारण यो उपलब्धि हात पारेको हो।
स्वास्थ्य सेवा प्रवर्द्धन तथा प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएकोमा गाउँपालिकालाई सम्मान गरिएको छ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय, डोटीले आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्य सूचक उपलब्धि, कार्यक्रम कार्यान्वयन, सेवा प्रवाहको अवस्था, नवप्रवर्तन तथा उत्कृष्ट प्रदर्शनका आधारमा नौगाड गाउँपालिकालाई ‘सम्मानपत्र’ प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर सिंह धामीले बताउनुभयो ।
स्वास्थ्य सेवा सुदृढीकरण तथा स्थानीय तहमा पहुँच विस्तारका लागि गाउँपालिकाले गरेका प्रयास, स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिएका सेवा, मातृ–शिशु स्वास्थ्य, खोप कार्यक्रम, सरसफाइ तथा पोषण अभियानमा प्राप्त सफलताका कारण नौगाड प्रदेशभरि नै दोस्रो भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सम्मानपत्रमा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिबद्धता, स्वच्छ प्रशासन, जनसहभागिता र स्वास्थ्यकर्मीहरूको सक्रियताप्रति प्रशंसा व्यक्त गरिएको छ।
स्वास्थ्य क्षेत्रमा गरिएका निरन्तर प्रयास र उपलब्धिले नौगाड गाउँपालिकालाई अझ जिम्मेवारीका साथ सेवा विस्तारमा प्रेरित गर्ने गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामीले बताउनुभयो।
यस सफलतामा योगदान पुर्याउने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा मूल्याङ्कनमा संलग्न सबैप्रति गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ।





प्रतिक्रिया