दार्चुला । प्रहरीले साढे ७ किलो चरेशसहित चार जनालाई पक्राउ गरेको छ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया बजारमा रहेको नमस्ते अन्नपूर्ण होटलबाट शुक्रवार साँझ साढे ६ बजेको समयमा चरेशसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ का ५० वर्षीय रूपसिंह सितोली, बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीय बमबहादुर धामी, छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय जनक जाग्री र सुर्मा गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय अमृत बोहरा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले बताउनुभयो।
होटलमा चरेशको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले चारै जनालाई होटलबाटै नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट एउटा डिजिटल तराजु समेत बरामद गरिएको छ। पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




