दार्चुला । दार्चुलामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याएको छ।

आइतबार रेडक्रस जिल्ला सभापति गोपाल सिंह महरको अध्यक्षता तथा दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा केन्द्र उद्घाटन गरिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसहित सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो। करिब एक महिनाअघि देखि सञ्चालनमा रहेको ब्लड बैंकको औपचारिक उद्घाटन गरिएको सभापति महरले जानकारी दिनुभयो।

यसअघि जिल्लामा ब्लड बैंक नहुँदा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीबाट प्राप्त रगतकै भरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था थियो। विशेषगरी सुत्केरी महिला, दुर्घटनामा परेका घाइते तथा आकस्मिक अवस्थाका बिरामीले समयमै रगत नपाउँदा उपचारमा समस्या हुने गरेको थियो।

विगतमा रगत अभावका कारण बिरामीलाई जिल्ला बाहिर पठाउँदा बाटोमै ज्यान गुमाउने अवस्था रहेको स्मरण गर्दै अब यस्तो समस्या समाधान हुने विश्वास सभापति महरले व्यक्त गर्नुभयो।

महरले लामो पहलपछि ब्लड बैंक स्थापना सम्भव भएको उल्लेख गर्दै यसको दिगोपन सुनिश्चित गर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो। ब्लड बैंक स्थापनामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको भूमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयो। पौडेलको पहलमा कर्मचारीहरूबाट ५ लाख २ हजार ८ सय ८१ रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको जानकारी दिइयो। साथै केन्द्र स्थापनामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।

ब्लड बैंक सञ्चालनका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट उपलब्ध गराएको बताइएको छ। केन्द्र सञ्चालनका लागि कम्तीमा तीन जना कर्मचारी आवश्यक पर्नेमा हाल महाकाली नगरपालिकाले एक जना ल्याब कर्मचारी उपलब्ध गराएको छ। एक जना कर्मचारी केन्द्रकै तर्फबाट करारमा राख्ने र थप एक जनाका लागि नगरपालिकासँग पहल गर्ने निर्णय गरिएको छ।

यसअघि २०७३ सालमा पनि आर्थिक सहयोग संकलन गरी उपकरण खरिद गरेर रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याइएको भए पनि मेसिन बिग्रिएपछि सेवा बन्द भएको थियो।

नयाँ स्थापित ब्लड बैंकले आकस्मिक बिरामीलाई समयमै रगत उपलब्ध गराउँदै जिल्लाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?