दार्चुला । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका १४ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ । चालकको पहिचान हुन नसकेको बताउँदै प्रहरीले खोजी कार्य जारी राखिएको जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ। घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ। जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नम्बर ८ का २२ खम्म खनाल, वडा नम्बर ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं। ५ का मेघराज भाट पनि घाइते भएका छन्। उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया