दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ ठिङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालित पाँचदिने विद्यार्थी उद्यमशीलता प्रवर्द्धनात्मक तालिम सम्पन्न भएको छ।
शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाको आर्थिक सहयोग तथा राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा असार १२ गतेदेखि सञ्चालन भएको तालिममा स्थानीय स्तरमा पाइने निगालो तथा बाँसबाट डोको, नाङ्लो लगायतका परम्परागत सामग्री बनाउने सीप विद्यार्थीलाई प्रदान गरिएको हो।
विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीका अनुसार पाँच दिनसम्म सञ्चालन भएको तालिमबाट विद्यार्थीहरूले निगालो र बाँसका सामग्री उत्पादन गर्ने व्यावहारिक सीप हासिल गरेका छन्। तालिमले विद्यार्थीमा स्वरोजगार र उद्यमशीलताको भावना विकास गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
तालिमको समापन मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश सिंह धामीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मालिकार्जुन गाउँपालिका–२ का वडाध्यक्ष गणेश सिंह धामी प्रमुख अतिथि रहनुभएको थियो।
समापन कार्यक्रममा वडा सदस्य पार्वती धामी, शैक्षिक अभियन्ता चन्द्र सिंह धामी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक सागर विक्रम सिंहले गर्नुभएको थियो।
तालिममा स्थानीय प्रशिक्षक शंकर सिंह धामी र पान सिंह धामीले सहजीकरण गर्दै निगालो तथा बाँसबाट डोको, नाङ्लो लगायतका सामग्री बनाउने व्यावहारिक प्रशिक्षण दिनुभएको शिक्षक अवस्थीले जानकारी दिनुभयो ।
विद्यालयले यस्ता सीपमूलक तथा उद्यमशीलतामुखी तालिमले विद्यार्थीमा व्यावहारिक ज्ञान, आत्मविश्वास र स्थानीय स्रोत–साधनको उपयोगमार्फत स्वरोजगारको सम्भावना बढाउने अपेक्षा गरिएको कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष गणेश सिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया