
दार्चुला । मालिकार्जुन पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तरगत मालिकार्जुन मन्दिर देखि शिखरधाम जाने पिसिसि बाटो निर्माण भइरहेको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालयको चालु आर्थिक वर्षमा नयाँ विकास गर्नुपर्ने एक सय पर्यटकिय गन्तब्यहरुमध्ये स्वीकृत मालिकार्जुन पर्यटन पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै शैल्यशिखर नगरपालिकाले समेत १५ लाख रुपैया बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षमा मन्त्रालयबाट प्राप्त ५० लाख र नगरपालिकाको १५ लाख गरी जम्मा ६५ लाख बजेटबाट दुई वटा स्किममा पिसिसि बाटो निर्माणको काम भइरहेको छ । ढोलीबस्ना देखि मौतामौतीसम्म ५०० मिटर पिसिसि बाटो निर्माणका लागि ३४ लाख र चौड मन्दिरदेखि मालिकार्जन मन्दिरसम्म ८०० मिटर पिसिसि बाटो निर्माणका लागि ३१ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिखरधाम जोड्ने बाटोको बुधबार मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी नेतृत्वको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा दुबै बाटो तर्फका उपभोक्ता समिति पदाधीकारीहरुलाई डिजाइन स्टमेट अनुसार दिगो र गुणस्तरीय काम गर्न अनुरोध गरिएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
अनुगमन टोलीमा अध्यक्ष धामीका साथै गाउँपालिकाका इन्जिनियर ईश्वर पन्त, प्राविधिक सहायक दामोदर धामी लगायतको सहभागिता रहेको थियो ।
गत वर्ष समेत मालिकार्जुन पर्यटन पुर्वाधार विकासका लागि मन्त्रालयबाट ५० लाख बजेट विनियोजन गरिएको थियो ।
याे पनि पढ्नुहाेस : मालिकार्जुन स्वामीको बिरगाथा https://lokdarpantv.com/2020/05/21/520/
यसैबिच मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी नेतृत्वको टोलीले बुधबार नै मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडस्थित प्रेमसिह धामी स्मृति प्रतिष्ठानको पनि निरीक्षण गरेको छ ।
स्मृति प्रतिष्ठानमा चालु आर्थिक वर्षमा फर्निचर, टेवापर्खाल र सौचालय निमार्णका साथै कार्यालय व्यवस्थापनका लागि १० लाख रुपैया विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।