“आगा हुल तोई दिउलो पाछा हुल मेरी दुत्या हुल तोई दिउलो चतुर्दशी मेरी” उल्लेखित उद्दरणहरु प्राचीन डोटी र कुमाउँ क्षेत्रका लोक प्रशिद्ध देवता लटिनाथको गाथा (झोडो)का हुन् ।
ठाउँ अनुसार लटिनाथलाई लटबाब, लट्या, लाटो आदि नामले पुकारिन्छ। लटिनाथलाई एक महान योद्धा र न्यायका देवताको रुपमा लिने गरिन्छ।
पिता मलैनाथले हुणदेशका राजा छिपलाकि रानी भागाश्रीलाई आफ्नी आठौं रानीको रुपमा भित्र्याएपछि छिपलाले आफ्नो सैन्यबलका साथ मलैनाथ र भागाश्रीको निवासस्थान शिखरधुरामा आक्रमण गर्दा सो आक्रमणको प्रतिउत्तर दिन आफूसङ्ग कोही वीर योद्धा नभएको र जेठो छोरा लटिनाथलाई नदीमा बगाएकोमा पश्चाताप गरिरहेको समयमा मार्मा थलीबाट लटिनाथको प्रस्थान युद्धस्थलमा हन्छ।
शिखरधुरामा मलैनाथ र भागाश्री लुकेको स्थान पत्ता लगाउन छिपला पक्षले दह बाँधी सो दहबाट प्रकाश परावर्तन गराउन लाग्दा लटिनाथले १२ मन फलामको गोला प्रहार गरि उक्त दह भत्काईदिएको किम्बदन्ती पाईन्छ । साथै छिपला पक्षको आक्रमणबाट परेका पहिरोहरुलाई पिठ्यु थापेर माथितिर फर्काईदिएको कुरा पनि लटिनाथको गाथा(झोडो)मा सुन्न पाईन्छ ।
मलैनाथ पक्षको सेनापतिको भुमिकामा रहेका लटिनाथले युद्धमा छिपला पक्षलाई पराजित गरिसकेपछी मलैनाथ र लटिनाथको चिनजान भएको प्रसङ्ग आउँछ। कुराकानीका क्रममा आफुले अरु रानीहरु र ज्योतिषको कुरा सुनेर पिता लाई पिर्ने ग्रह परेको भनेर नदीमा बगाएको शोभाश्री पुत्र उनै लटिनाथ भएको प्रस्ट हुन्छ ।
एकातर्फ छिपलामाथीको विजय र अर्कोतर्फ बर्षौ पहिले शिशु अवस्थामा नदीमा बगाईएको पुत्र जवान भएर फर्कएको देख्दा मलैनाथ लाई औधी खुसी लाग्छ। खुसीकै माहोलमा मलैनाथले आफ्नो भन्दा पहिले पुजाआजा हुने र जात्रा लाग्ने घोषणा गर्नुहुन्छ । सोही अनुरुप कार्तिक शुक्ल द्वितियामा लटिनाथको र कार्तिक शुक्ल चतुर्दशीमा मलैनाथको जात्रा लाग्ने गर्दछ ।
लटिनाथको मुल बासस्थान दार्चुला जिल्लाको मार्मा क्षेत्रमा पर्ने तलाईमाडौं हो । लटिनाथले आफ्नो जीवनकालमा केही समय बसोबास गरेका अन्य सबै क्षेत्रहरुमा लटिनाथको मन्दीर रहेको छ । त्यसमध्ये शैल्यशिखर -८ दार्चुलामा पर्ने बन्तोली पनि एक हो।
मुलथान तलाईमाडौं पछि बन्तोली, मैखोली खर्क, विजयपुर र चौडलाई विशेष महत्त्व दिने गरिन्छ । बन्तोली लगायत लटिनाथका मन्दिरहरुमा प्रत्येक बर्ष कार्तिक शुक्ल द्वितियाका दिन पुजा आराधना एवम् रात्रीकालिन भव्य जात्रा लाग्ने गर्दछ।
यसपालि भने कोरोना कहरका कारण दिन मा पुजा आराधना मात्रै गरिएको छ। हामी सबै वैश्विक महाव्याधी संग जुधिरहेको बेला रात्रीकालिन जात्रा नलगाउने निर्णयलाई स्वभाविक रुपमा लिन सकिन्छ । तर केही ठाउँहरुमा यसपालि जस्तै आउँदा बर्षहरुमा पनि जात्रा दिनमै सम्पन्न गर्ने कुरा चलिरहेको सुन्दा नमज्जा लागिरहेको छ।
अब सधैं जात्रा दिनमा लगाउनु पर्छ भन्ने पक्षबाट वकालत गरिरहेकाहरुले रातमा विकृति बढेका कारण दिनमा जात्रा लगाउनु पर्ने तर्क अघि सारेका छन् । जाँडरक्सी, जुवातास, चोरी,अनैतिक कृयाकलाप,झैझगडा आदि रात्रीकालिन जात्रामा देखिएका विकृतिहरु हुन् ।
यी क्रियाकलापहरु रात्रीकालिन जात्राको कारण भन्दा पनि समाजले बाटो बिराएका कारण बढेका हुन् । मन्दिरको प्रवेशद्वारमै रक्सी पसल खोल्न दिने देखि चोरी झैझगडा र अनैतिक क्रियाकलापमा समाजका सभ्य भनिएकाहरु नै अगुवा बनेर लागेपछी बाँकी समाजले बाटो बिराउँछ नै ।
जात्रामा देवीदेवताको दर्शन गर्ने,आफन्तसङ्ग भेटघाट गर्ने,लोकगीत गाउने,लोक नृत्यहरु गर्ने,लोकबाजाहरु बजाउने आदि उद्देश्यभन्दा पनि नकारात्मक कुरा मनमा लिएर जाने र नकारात्मक कार्य गर्नमै आफ्नो सम्पुर्ण ध्यान केन्द्रीत गर्ने भएपछि विकृती फैलिन्छ नै ।
मान्छेको मनमा नकारात्मक कुरा उत्पन्न हुन रात पर्खिनु पर्दैन। विकृतिहरु फैलिने कुनै निश्चित समय हुँदैन । रात्रीकालिन जात्रा दिनमा मनाएर विकृती हट्छ भन्नू एकदमै हल्का तर्क हो ।
सदियौं देखि पू्र्खाले हाम्रा लागि बचाईदिएको परम्परालाई हामीले तोड्न खोज्नु ईतिहासमाथिको उपहास हो। रात्रीकालिन जात्रा रोक्नुभन्दा पनि समाजलाई सही बाटो तर्फ कसरी डोहोर्याउन सकिन्छ त्यसतर्फ ध्यान दिन जरुरी छ । जात्राको समयमा मन्दिर पुग्नेहरु सबै स्वच्छ भावनाले लिएर जाने हो भने जात्रामा कुनै खालको विकृतिहरु देखा पर्दैनन् ।
पुर्खाहरुले ठूलो अध्ययन र अनुभवका आधारमा यी रात्रीकालिन जात्राहरु सुरु गरेका हुन् । यी परम्पराहरुलाई निरन्तरता दिँदै वैज्ञानिक पक्षहरुको बारेमा खोजी गर्नु हाम्रो कर्तव्य हो ।
स्वामी लटिनाथले हामी सबैको रक्षा गरुन् । तस्बिर :-हिमालय भट्ट !
लेखकबाट थप : अतिक्रमणको चपेटामा आदि कैलाश र ॐ पर्वत
सम्बन्धित : विवाहमा गाइने सगुन गीत हेर्दै सुन्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस https://www.youtube.com/watch?v=ZGHlFbZDWGQ
मौलिक संस्कृति मन पराउनेहरुले भिडियोलाई लाइक, कमेन्ट, सेयर र च्यानललाई सस्बक्राइब गर्न नभुल्नुहोला https://www.youtube.com/watch?v=ZGHlFbZDWGQ





प्रतिक्रिया