दार्चुला । अछाममा पहिरो परी मृत्यु हुनेको संख्या २२ पुगेको छ। एकजना अझै वेपत्ता छन्। गत शुक्रबार राति आएको पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीका अनुसार एकजनाको खोजी कार्य जारी छ ।
मृत्यु हुनेमा तुर्माखाँद गाउँपालिका ५ का एकैपरिवारका ४५ वर्षीया नेत्रबहादुर शाही,उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही,१७ वर्षीया छोरी बिमला शाही,१६ वर्षीया भतिजी जानकी शाही रहेका छन् । सोहि ठाउँका रितबहादुर शाहीकी बुहारी २३ वर्षीया भावना शाही,२० वर्षीया कल्पना शाही,१२ छोरा वर्षीय सुन्दर शाही,नातिनी ३ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाही रहेका छन् । रितबहादुर,पत्नी गौरा र दुई छोरा भारतमा रहेका छन् ।
कमलबजार नगरपालिका ८ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। २६ वर्षीया गम्भीरे दमाई,२३ वर्षीया उनकी श्रीमती भाना दमाई, छोरीहरु ६ वर्षीया डिक्रा,४ वर्षीया कल्पना र ३ वर्षीया कलु दमाई रहेका छन् । त्यसैगरी सोहि पालिकाको वडा नम्बर ६ का एकै परिवारका तीन बहिनी २२ वर्षीया संजिता जनाला,१९ वर्षीया सरिता जनाला र १४ वर्षीया गीता रहेका छन् । त्यसैगरी ३६ वर्षीया मैनकला कामी,२१ वर्षीया बुहारी धना कामी,छोरा ९ वर्षीय निखिल कामी,र १५ वर्षीया छोरी सिर्जना कामी रहेका वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिनुभयो ।
पहिरोमा परी मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ का २ वर्षीय नविन बुढा रहेका छन् । उनकी आमा २१ वर्षीया चन्द्रादेवी बुढा,६२ वर्षीया हजुरबुबा हर्क बुढा,१२ वर्षीया दाजु धर्म बुढालाई उपचारका लागी हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ । ढकारी गाउँपालिकाका १ का ४५ वर्षीय मोति बुढा जैशी अझै बेपत्ता रहेका छन् ।
पहिरोमा परी घाइते भएका कमलबजार नगरपालिका ६ का ८५ वर्षीय भक्त कामी,४२ वर्षीय ईन्द्र सिंह कामी,१२ वर्षीया कल्पना कामी, १० वर्षीय सुशिल कामी, ६५ वर्षीय खण्टी दमाई उपचारपछि घर फर्किएका छन् । कमलबजार नगरपालिका ६ का ३८ वर्षीय डिक्रा कामी, १२ वर्षीय ममता कामी र २ वर्षीय सफलता कामीको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, सुरक्षा निकाय लयागतसँगको समन्वयमा उद्धार, राहतको काम भइरहेको छ । जिल्ला अन्य स्थानमा घर, छाना भत्केको, जोखिममा रहेको र खेतीयोग्य जमिन नष्ट भएको विवरण जिल्ला प्रशासनमा आइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




