किस्तानी र अफगान सेनाबीच मंगलबार सीमा क्षेत्रमा गोली हानाहान भएको छ । पाकिस्तानी हवाई हमलाले पहिले नै कमजोर रहेको सम्बन्धलाई थप तनावपूर्ण बनाएको केही दिनपछि दुवै पक्षले एकअर्काले झडप सुरु गरेको आरोप लगाएका छन् ।

यो घटना २६ सय किलोमिटर लामो सीमामा देखिएको पछिल्लो तनाव हो । शनिबार र आइतबार पाकिस्तानले गरेको आक्रमणपछि सीमा क्षेत्रमा तनाव बढेको छ, जसले अक्टोबरमा भएको घातक झडपपछि कायम रहेको कमजोर युद्धविरामलाई खतरामा पारेको छ ।

पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मुसर्रफ जैदीले रोयटर्सलाई बताएअनुसार अफगान तालिवान अधिकारीहरूले पाकिस्तान–अफगानिस्तान सीमाको तोर्खाम र तिराह उप–क्षेत्रहरूमा गोलीबारी सुरु गरेका थिए ।

“पाकिस्तानका सुरक्षा बलहरूले तुरुन्त र प्रभावकारी रूपमा जवाफ दिएर तालिवानको आक्रामकतालाई शान्त पारेका छन्,” जैदीले भने । उनले थप उक्साहटपूर्ण कार्य भएमा तुरुन्त र कडा जवाफ दिइने चेतावनी दिए ।

NMB Bank
अफगान अधिकारीहरूले भने फरक विवरण दिएका छन् । उनीहरूका अनुसार पाकिस्तानी सेनाले पहिले गोली चलाएको थियो । त्यसपछि अफगान सैनिकहरूले जवाफ दिएका थिए ।

नंगरहार प्रान्तका सूचना तथा संस्कृति निर्देशक जबिउल्लाह नुरानीले यो घटना नाज्यान जिल्लाको शाहकोट क्षेत्रमा भएको बताएका छन् । हाल लडाइँ रोकिएको तथा कुनै पनि अफगान हताहती नभएको दाबी गरेका छन् ।

यसैगरी, पूर्वी अफगानिस्तानको सुरक्षाको जिम्मेवारी पाएका एक अफगान आर्मी कोरका प्रवक्ता मौलावी वाहिदुल्लाहले अचिन र दुरबाबा जिल्लाका डुरान्ड लाइननजिकै सीमा बलले गस्ती गरिरहेका बेला उनीहरूमाथि गोली प्रहार भएको बताए ।

उनले यो दोहोरो गोली हानाहान प्रतिशोध नभई आएको गोलीको जवाफ मात्र भएको बताए ।

इस्लामाबादले शनिबार र आइतबार गरिएको पाकिस्तानी हवाई हमलाले पूर्वी अफगानिस्तानमा रहेका ‘तेहरिक–ए–तालिवान पाकिस्तान’ (टीटीपी) र ‘इस्लामिक स्टेट खोरासान प्रान्त’का शिविरहरूलाई लक्षित गरेको जनाएको छ । सुरक्षा स्रोतहरूले विद्रोहीहरूको मृत्यु हुनेको संख्या ७० पुगेको बताएका छन् ।

अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय सहायता मिसनले नंगरहारमा कम्तिमा १३ सर्वसाधारण मारिएको र सातजना घाइते भएको बताएको छ ।

तालिवान अधिकारीहरूले मृतकको संख्या यसभन्दा बढी रहेको दाबी गरेका छन् । रोयटर्सले यी तथ्यांकहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

पाकिस्तानले टीटीपीका नेताहरू अफगान भूमिबाट सञ्चालन भइरहेका आरोप लगाउँदै आएको छ, जसलाई काबुलले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?