दार्चुला । बैतडीको डिलासैनी गाउँपालिकाका एक वृद्ध व्यक्ति बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डिलासैनी गाउँपालिका–६ निवासी ६७ वर्षीय प्रेम बोहरा रहेका छन् । उहाँ शनिबार जेठ २ गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।
बोहरा सोही दिन दिउँसो करिब ४ बजेतिर सौनगाउँ निवासी ऐनबहादुर बोहरालाई ५० हजार रुपैयाँ सावाँ र १० हजार रुपैयाँ ब्याज गरी जम्मा ६० हजार रुपैयाँ बुझाउन घरबाट निस्किएका थिए । उहाँले उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाइसकेको बेपत्ता बोहराका भतिज रतनपति बोहराले बताउनुभयो ।
रिण बुझाएर फर्किने क्रममा आधा बाटोसम्म स्थानीयवासीले देखेको भए पनि त्यसपछि उहाँ घर नपुगेको आफन्तले बताएका छन् । घटनापछि परिवारले खोजी कार्य जारी राखेको छ ।
बेपत्ता बोहराको खोजीका लागि परिवारले प्रहरीमा निवेदनसमेत दिएको जनाएको छ । उहाँलाई कहीँकतै देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई जानकारी गराइदिन परिवारले आग्रह गरेको छ ।




