दार्चुला । महाकाली नदीमाथि दार्चुलाको असिगडा र भारतको धार्चुलास्थित छारछुम जोड्ने मोटरेबल पुल सञ्चालनमा आउनु सीमावर्ती क्षेत्रका लागि लामो समयदेखिको प्रतीक्षाको अन्त्य हो। वर्षौँदेखि तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्न बाध्य नागरिकका लागि पुलले सहज आवागमनको बाटो खोलेको छ। तर यो पुलको महत्त्व नदी वारपार गर्न सहज हुनुमा मात्रै सीमित छैन। यसले दार्चुला र समग्र सुदूरपश्चिमको व्यापार, पर्यटन र आर्थिक विकासका लागि नयाँ सम्भावना पनि बोकेको छ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्सिर ७ गते संयुक्त रूपमा उद्घाटन गरेपछि ११० मिटर लामो दुई लेनको पुल सञ्चालनमा आएको हो। महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला तहसिलस्थित छारछुमलाई जोड्ने यो पुल निर्माणको विषय भने अहिलेको होइन। यसको पृष्ठभूमि र निर्माणका लागि भएको राजनीतिक तथा कूटनीतिक पहल पनि उत्तिकै महत्त्वपूर्ण छ।

महाकाली नदीमा मोटरेबल पुल निर्माणको विषयलाई भारतसँग उच्चस्तरमा उठाउने प्रारम्भिक पहल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो। २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको छलफलमा महाकाली नदीमा मोटरेबल पुल निर्माणको विषय प्रवेश गरेको थियो। त्यसपछि २०७५ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि यो विषय उठेको थियो। त्यतिबेला प्रधानमन्त्री ओलीले दार्चुला जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुलको विस्तृत परियोजना प्रतिवेदन भारतले तयार गरिरहेको र निर्माण प्रक्रिया अघि बढ्ने अपेक्षा व्यक्त गर्नुभएको थियो।

यसरी सुरु भएको पहलले औपचारिक रूप भने शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा पायो। २०७८ माघ १८ गते नेपाल र भारत सरकारबीच पुल निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। नेपालका तर्फबाट तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र भारतका तर्फबाट नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा भएको उक्त सम्झौताको उद्देश्य सुदूरपश्चिम र भारतको उत्तराखण्डबीच सम्पर्क विस्तार गर्नुका साथै व्यापारिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानलाई सहज बनाउनु थियो।

भारत सरकारको आर्थिक अनुदानमा निर्माण भएको पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो। करिब ३२ करोड ९८ लाख भारतीय रुपैयाँ लागतमा निर्माण भएको पुल सञ्चालनमा आउन भने थप समय लाग्यो। अहिले पुल सञ्चालनमा आइसकेपछि यसको निर्माणसँग जोडिएका उद्देश्य पूरा गर्ने जिम्मेवारी दुवै देशका सरकार र सम्बन्धित निकायको काँधमा आएको छ।

पुल सञ्चालनको सबैभन्दा ठूलो सम्भावना सीमापार व्यापारमा देखिन्छ। दार्चुला र धार्चुलाबीच लामो समयदेखि सामाजिक, पारिवारिक र व्यापारिक सम्बन्ध रहँदै आएको छ। तर महाकाली नदी वारपार गर्न सहज सवारी सम्पर्क नहुँदा यी सम्बन्धले अपेक्षित व्यावसायिक रूप लिन सकेका थिएनन्। अब पुलबाट सवारीसाधन आवतजावत गर्न थालेपछि दुवैतर्फका बजार जोडिने, स्थानीय उत्पादनको कारोबार बढ्ने र व्यवसायीलाई नयाँ अवसर मिल्ने सम्भावना छ।

दार्चुला मात्रै नभएर बैतडी, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले समेत यो नाकाबाट लाभ लिन सक्ने अवस्था छ। स्थानीय कृषि उत्पादन, जडीबुटी, हस्तकला तथा अन्य उत्पादनलाई भारतीय बजारसम्म पुर्‍याउने अवसर सिर्जना हुन सक्छ। त्यसैगरी भारतबाट आवश्यक उपभोग्य वस्तु तथा निर्माण सामग्रीको आपूर्ति सहज बनाउन सकिन्छ। यसले स्थानीय बजारमा आर्थिक गतिविधि बढाउन र रोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउन सक्छ।

तर पुल बनेपछि मात्रै व्यापार फस्टाउँछ भन्ने होइन। व्यापार सञ्चालनका लागि आवश्यक भन्सार, क्वारेन्टाइन, सुरक्षा जाँच तथा अन्य प्रशासनिक संरचना अनिवार्य हुन्छन्। नेपालतर्फ यी संरचनाको निर्माण र व्यवस्थापनको काम अझै पूरा हुन बाँकी छ। सवारीसाधन आवतजावत गर्न थाले पनि व्यवस्थित रूपमा मालसामान आयात–निर्यात गर्ने वातावरण तयार नभएसम्म पुलको व्यापारिक उपयोग सीमित रहनेछ। त्यसैले सरकारले भन्सार तथा क्वारेन्टाइनलगायत आवश्यक संरचना निर्माणलाई प्राथमिकतामा राखेर छिटो सेवा सञ्चालन गर्नुपर्छ।

व्यापारसँगै यस पुलले धार्मिक तथा पर्यटन विकासमा पनि नयाँ सम्भावना खोलेको छ। दार्चुला धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। भारतको उत्तराखण्ड पनि धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि परिचित क्षेत्र हो। दुई क्षेत्रबीच आवागमन सहज भएपछि दुवैतर्फका धार्मिक पर्यटक, तीर्थयात्री र घुमफिर गर्न चाहने नागरिकको आवागमन बढाउन सकिन्छ। दार्चुलाका धार्मिक स्थल, मठमन्दिर, जात्रा तथा सांस्कृतिक सम्पदालाई भारतीय पर्यटकमाझ चिनाउन सके यहाँको पर्यटन व्यवसायले लाभ लिन सक्छ। त्यस्तै, भारतीय क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलमा जाने नेपालीका लागि पनि यात्रा सहज हुनेछ।

यसका लागि दार्चुलाका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार मात्रै गरेर पुग्दैन। पर्यटकलाई लक्षित गरेर यातायात, होटल, आवास, खानपान, सूचना तथा अन्य आधारभूत सेवा विस्तार गर्नुपर्छ। भारततर्फका पर्यटन व्यवसायी र स्थानीय निकायसँग सहकार्य गरेर संयुक्त पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ। धार्मिक तथा सांस्कृतिक यात्राका सम्भावित मार्ग पहिचान गरी दुवै देशका पर्यटकलाई आकर्षित गर्ने योजना बनाउन सके स्थानीय होटल, यातायात, व्यापार र सेवा व्यवसायले प्रत्यक्ष लाभ लिन सक्छन्।

अहिले पुल सञ्चालनमा आए पनि यसको प्रयोगमा केही सीमा र जटिलता छन्। बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै पुल सञ्चालन हुने व्यवस्था छ। आकस्मिक अवस्थाबाहेक रातिको आवतजावत बन्द हुन्छ। नेपाली सवारीसाधनलाई भारततर्फ र भारतीय सवारीसाधनलाई नेपालतर्फ सीमावर्ती नजिकको बजारसम्म मात्रै आवतजावतको अनुमति दिइएको छ। निर्धारित दूरीभन्दा टाढा जान थप अनुमति लिनुपर्ने व्यवस्था छ। यसले सामान्य आवतजावतमा खासै समस्या नभए पनि व्यापारिक गतिविधि र पर्यटकको आवागमन विस्तार हुँदा थप सहज व्यवस्थाको आवश्यकता देखिनेछ।

स्थानीयले पुललाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने र प्रयोगसम्बन्धी नियमलाई व्यावहारिक बनाउनुपर्ने माग गरेका छन्। सीमा सुरक्षा र प्रशासनिक व्यवस्थालाई बेवास्ता गर्न सकिँदैन। तर सुरक्षा व्यवस्थासँगै नागरिकको दैनिक आवश्यकता, व्यापारिक गतिविधि, पर्यटकको आवागमन र आकस्मिक अवस्थालाई पनि ध्यान दिनुपर्छ। दुवै देशका स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयबीच समन्वय गरेर समयसीमा र आवतजावतका प्रक्रियालाई सहज बनाउन सकिन्छ।

अहिले पुल आसपासका घाट, असिगडा र दार्चुला क्षेत्रका स्थानीयले बढी आवतजावत गरिरहेका छन्। मुख्य बजार क्षेत्र पुलभन्दा केही माथि रहेकाले तत्कालै सवारीसाधनको चाप बढिसकेको छैन। तर यो सुरुवाती अवस्था हो। पुलको सुविधा र उपयोगिताबारे सर्वसाधारणलाई जानकारी गराउने, बजारसम्म जोड्ने सडक तथा यातायात व्यवस्था सुधार्ने र व्यापारिक गतिविधि विस्तार गर्ने काममा ढिलाइ गर्नु हुँदैन।

यससँगै महाकाली करिडोरलगायत क्षेत्रीय सडक सञ्जालको निर्माण र स्तरोन्नतिलाई पनि गति दिन आवश्यक छ। असिगडा–छारछुम पुललाई एउटा स्थानीय आवागमन बिन्दुमा सीमित राख्नु हुँदैन। यसलाई सुदूरपश्चिमका पहाडी जिल्लाको व्यापारिक सम्भावना विस्तार गर्ने र भारतको उत्तराखण्डसँग आर्थिक सम्बन्ध जोड्ने महत्त्वपूर्ण नाकाका रूपमा विकास गर्नुपर्छ। दीर्घकालमा त्रिदेशीय व्यापारिक सम्पर्क र ताक्लाकोट नाकासँग जोडिने सम्भावनालाई समेत ध्यानमा राखेर आवश्यक पूर्वाधार र नीतिगत तयारी गर्न सकिन्छ।

पुल निर्माणका लागि दुई देशबीच भएको सम्झौताले व्यापार, संस्कृति र जनस्तरको सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको थियो। प्रारम्भिक पहलदेखि औपचारिक सम्झौता, निर्माण र उद्घाटनसम्म आइपुग्दा लामो समय लागेको छ। अब पुल सञ्चालनमा आइसकेपछि यसको उद्देश्य पूरा गर्ने जिम्मेवारीबाट दुवै देशका सरकार पन्छिन मिल्दैन। नेपाल सरकारले भन्सार, क्वारेन्टाइन, सुरक्षा र प्रशासनिक संरचनाको व्यवस्था छिटो गर्नुपर्छ भने भारतसँग पनि व्यापार र पर्यटनका लागि आवश्यक सहजीकरणमा निरन्तर संवाद गर्नुपर्छ।

महाकाली नदीले दुई देशको सीमा छुट्याए पनि यस क्षेत्रका नागरिकबीचको सामाजिक, पारिवारिक र सांस्कृतिक सम्बन्धले सधैँ निकटता कायम राखेको छ। अब त्यही सम्बन्धलाई व्यापार, पर्यटन र आर्थिक अवसरसँग जोड्ने समय आएको छ। तुइन र ट्युबको जोखिमपूर्ण यात्रा अन्त्य हुनु आफैँमा ठूलो उपलब्धि हो। तर पुलको वास्तविक सफलता सीमावर्ती नागरिकको जीवनस्तरमा सुधार, स्थानीय उत्पादनको बजार विस्तार, व्यापारिक कारोबारमा वृद्धि र धार्मिक तथा पर्यटकीय आवागमन बढ्दा मात्रै देखिनेछ।

पुल सञ्चालनमा आउनु उपलब्धि हो, तर त्यसलाई समृद्धिको माध्यम बनाउनु अबको चुनौती हो। असिगडा–छारछुम पुललाई केवल नदी वारपार गर्ने बाटोमा सीमित नराखी सीमापार व्यापार, धार्मिक पर्यटन र सुदूरपश्चिमको आर्थिक विकासको ढोका बनाउन सरकार र निजी क्षेत्र दुवैले सक्रियता देखाउनुपर्छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

नेपाल–भारत सहमति कार्यान्वयन गर्न उच्चस्तरीय अनुगमन समूह पुनः सक्रिय पारिने

२०८३ मंसिर ७, सोमबार १८:४० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?