दार्चुला । दार्चुलाको असिगडा र भारतको धार्चुलास्थित छारछुम जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुल सञ्चालनमा आएसँगै सीमावर्ती क्षेत्रमा व्यापार, पर्यटन र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ। लामो समयदेखि तुइन र ट्युबको जोखिमपूर्ण यात्रामा निर्भर सीमावर्ती बासिन्दाका लागि सहज आवागमनको माध्यम बनेको यो पुलले नेपाल–भारत सीमाक्षेत्रमा धार्मिक पर्यटन र स्थानीय बजारको विकासका लागि समेत नयाँ सम्भावना खोलेको छ।
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मङ्सिर ७ गते संयुक्त रूपमा उद्घाटन गरेपछि पुल सञ्चालनमा आएको हो। ११० मिटर लामो दुई लेनको यस पुलले महाकाली नगरपालिका–८ स्थित असिगडा र भारतको उत्तराखण्ड राज्यअन्तर्गत पिथौरागढ जिल्लाको धार्चुला तहसिलस्थित छारछुमलाई जोडेको छ।
पुल सञ्चालनमा आएसँगै दुवै देशका नागरिक तथा सवारीसाधनलाई सीमापार आवतजावत गर्न सहज भएको छ। यसअघि महाकाली नदी वारपार गर्न तुइन, ट्युब र पैदल यात्राको सहारा लिनुपर्ने बाध्यता थियो। अब मोटरेबल पुलबाट सवारीसाधन आवतजावत गर्न थालेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले वर्षौंदेखिको जोखिमपूर्ण यात्राबाट मुक्ति पाउने अपेक्षा गरेका छन्।
पुलको सञ्चालनले तत्कालीन आवतजावतको सुविधा मात्रै नभई सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। दार्चुला र धार्चुलाबीच परम्परागत रूपमा रहँदै आएको सामाजिक, पारिवारिक तथा व्यापारिक सम्बन्धलाई थप सहज बनाउन पुल उपयोगी हुने देखिन्छ। सीमापार आवतजावत सहज हुँदै जाँदा स्थानीय उत्पादनको व्यापार, बजारसम्मको पहुँच र दुवैतर्फका व्यवसायीबीचको कारोबार विस्तार हुन सक्ने सम्भावना छ।
त्यस्तै, दार्चुला र भारतको सीमावर्ती क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने भएकाले धार्मिक पर्यटन प्रवर्द्धनमा पनि पुलले सहयोग पुर्याउन सक्ने अपेक्षा गरिएको छ। दुवै देशका धार्मिक पर्यटक तथा तीर्थयात्रीको आवागमन बढाउन सके यस क्षेत्रका होटल, यातायात, व्यापार र अन्य सेवा व्यवसायले समेत लाभ लिन सक्नेछन्।
हाल पुल बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन भईरहेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार बेलुका ६ बजेपछि सामान्य अवस्थामा पुल बन्द हुने भए पनि आकस्मिक अवस्थामा यात्रु तथा सवारीसाधनको आवतजावत रोकिने छैन। प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार भारतीय सवारीसाधनलाई नेपालतर्फ र नेपाली सवारीसाधनलाई भारततर्फ सीमावर्ती नजिकको बजारसम्म आवतजावत गर्न अनुमति दिइएको छ। नेपाली सवारीसाधनले भारतको नजिकको बजारभन्दा टाढा जानुपरे निर्धारित अनुमति पत्र अर्थात् पास लिनुपर्ने व्यवस्था छ। भारततर्फ १५ किलोमिटर दूरीसम्म आवतजावत गर्न अनुमति दिइने भए पनि त्यसभन्दा टाढा जान भारतीय दूतावासबाट जारी हुने पास आवश्यक पर्ने उहाँले बताउनुभयो।
त्यस्तै, नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधनले नजिकको नेपाली बजारसम्म आवतजावत गर्दा कुनै शुल्क तिर्नुपर्दैन। असिगडा पुल हुँदै सदरमुकाम खलंगासम्म आउने भारतीय सवारीसाधनको विवरण अभिलेख राखेर रसिद काट्ने गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार सामान्य अवस्थामा सीमापार सवारी आवतजावतमा खासै झन्झट छैन। तर, निर्धारित समय र दुवै देशका नियमअनुसार आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले पुल आसपासका घाट, असिगडा र दार्चुला क्षेत्रका स्थानीयले बढी आवतजावत गर्ने गरेको बताउनुभयो। मुख्य बजार क्षेत्र पुलभन्दा केही माथि रहेकाले अहिले नै सवारीसाधनको चाप बढिसकेको छैन। सर्वसाधारणले पुलबारे जानकारी पाउँदै गएपछि आवतजावत क्रमशः बढ्ने उहाँको भनाइ छ।
वर्षौंदेखि जोखिमपूर्ण यात्राको पर्याय बनेको महाकाली नदीमाथि निर्माण भएको असिगडा–छारछुम मोटरेबल पुल अहिले सीमावर्ती बासिन्दाका लागि आवागमनको नयाँ माध्यम बनेको छ। अब यसको प्रभावकारिता भने सहज र व्यवस्थित आवतजावत, व्यापारिक गतिविधिको विस्तार तथा धार्मिक र पर्यटकीय सम्भावनालाई व्यवहारमा जोड्न दुवै देशले गर्ने सहजीकरणमा निर्भर रहनेछ।

धामी लोकदर्पण मिडियाका कार्यकारी सम्पादक हुन । उहाँ सामाजिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउनुहुन्छ ।





प्रतिक्रिया