दार्चुला । गुजरातको कान्डाला बन्दरगाहमा नेपाललाई पहुँच दिने विषयमा भारतसँग ०५१ मै सहमति भएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणका क्रममा समकक्षी पिभी नरसिंह रावसँग भएको औपचारिक वार्तामा यसबारे सहमति भएको थियो । ३२ वर्षपछि प्रधानमन्त्री बालेन्द्र शाहले अघिल्लो साता गरेको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग फेरि त्यही सहमति गरेका छन् । जसलाई सरकारले नयाँ उपलब्धिका रूपमा प्रचार गरेको छ ।
एमाले नेता अधिकारी प्रधानमन्त्री हुँदा भारतीय राष्ट्रिय कांग्रेसका नेता राव भारतमा प्रधानमन्त्री थिए । रावको औपचारिक निमन्त्रणामा अधिकारी २७ चैत ०५१ देखि १ वैशाख ०५२ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । २९ चैत ०५१ मा दुई प्रधानमन्त्रीबिच नयाँदिल्लीमा भएको औपचारिक वार्तामा नेपालले कान्डाला बन्दरगाहमा पहुँच पाउने सहमति भएको थियो ।
द्विपक्षीय वार्तापछि २९ चैत ०५१ मा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा कान्डाला बन्दरगाहबारे भएको सहमति उल्लेख छ । ‘श्री ५ को सरकार (नेपाल) र भारत सरकारबिच सम्पन्न छलफलको आधारमा व्यापार तथा पारवहन व्यवस्थामा देहायबमोजिमका थप सुधारहरू गर्ने सहमति भयो,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘भन्सार सिलबन्दी गरिएका कन्टेनरहरूमा तोकिएको सबैभन्दा छोटो रेलमार्ग हुँदै मालसामानको पारवहन हुने सर्तमा, भारतीय नागरिकहरूलाई उपलब्ध भएसरहकै सर्तमा नेपालको पारवहन व्यापारका लागि कान्डला र बम्बईका अतिरिक्त बन्दरगाहहरूको सुविधा उपलब्ध गराउने ।’ र, बुँदा ७ कै दोस्रो उपबुँदामा भनिएको छ, ‘कान्डला, बम्बई र कलकत्ताबाट वा ती बन्दरगाहहरूमा भन्सार सिलबन्दीअन्तर्गत कन्टेनरमा ढुवानी हुने नेपालको पारवहन व्यापारका लागि रक्सौलमा भन्सार जाँचपासका थप सुविधाहरू उपलब्ध गराउने ।’
यद्यपि, त्यतिवेला भएको सहमति तीन दशकसम्म कार्यान्वयनमा जान सकेको थिएन । अघिल्लो साता भएको प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा यो बन्दरगाहमा नेपालले पहुँच पाउने सहमति पुनः भएको हो । कूटनीतिक स्रोतका अनुसार गत ७ मंसिरमा दिल्लीमा भएको द्विपक्षीय वार्तामा प्रधानमन्त्री शाहले समकक्षी मोदीसँग विगतमै सहमति भइसकेको बन्दरगाहको प्रयोग र पहुँच दिन प्रस्ताव गरेका थिए, मोदीले पहुँच दिने घोषणा गरे ।
द्विपक्षीय वार्तापछि ७ मंसिर ०८३ मा जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ९ मा भनिएको छ, ‘प्रधानमन्त्री मोदीले दीनदयाल बन्दरगाह (कान्डला, गुजरात)मार्फत नेपालको पारवहन व्यापारका लागि नयाँ कनेक्टिभिटी मार्गको घोषणा गर्नुभयो । यसका साथै आवश्यक पूर्वाधार तयार भएपछि पारादीप बन्दरगाह (ओडिसा)सम्मको पहुँच पनि उपलब्ध गराइनेछ ।’
गुजरातको कच्छ जिल्लास्थित गान्धीधामनजिकै रहेको कान्डला भारतको सबैभन्दा ठुला बन्दरगाहमध्ये एक हो । भारत स्वतन्त्र भएपछि सन् १९५० को दशकमा निर्माण भएको बन्दरगाहले सन् २०२५/२६ को वित्त वर्षमा १५ करोड टनभन्दा बढी मालसामान व्यवस्थापन गरेर रेकर्ड कायम गरेको थियो । पश्चिमी भारतको प्रमुख बन्दरगाहका रूपमा विकास गरिएको कान्डलालाई निजी क्षेत्रले व्यवस्थापन गर्दै आएको छ ।
कूटनीति मामिलाका जानकार तथा विज्ञहरूले पहिला नै पहुँच पाइसकेको विषयमा पुनः सहमति गर्नु नेपाली कूटनीतिक संयन्त्रको कमजोरी रहेको तथा विगतमै भइसकेको सहमतिलाई नयाँ उपलब्धि भनेर हल्लाखल्ली गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
पूर्ववाणिज्यसचिव पुरुषोत्तम ओझाले ०५१ मा द्विपक्षीय सहमति भएको र अहिले भएको सहमति नयाँ नभएको बताए । उक्त बन्दरगाह प्रयोग गरिहाल्नुपर्ने कारण नदेखिएका कारण नेपालले थप फलोअप नगरेको ओझाको भनाइ छ । भारतसँग सहमति भएको केही वर्षसम्म दुई देशका वाणिज्यसचिव तथा सहसचिवस्तरीय संयन्त्रहरूमा कान्डला बन्दरगाह प्रयोगका विषयहरू समेटिएको उनले बताए ।
‘म वाणिज्य मन्त्रालयको सचिव हुँदा पनि कान्डला बन्दरगाहमा नेपालले पहुँच पाएकोबारे सबै संयन्त्रलाई थाहा थियो, तर त्यो बन्दरगाह प्रयोग गरिहाल्नुपर्ने त्यस्तो कुनै कारण थिएन, प्रधानमन्त्रीस्तरमा सहमति भएपछि केही वर्षसम्म दुवै देशका सचिव तथा सहसचिवस्तरीय संयुक्त बैठकमा कान्डला बन्दरगाह नेपालले प्रयोग गर्नेबारे कुरा उठिरहन्थ्यो,’ ओझाले भने, ‘बिस्तारै हामीले फलोअप गर्न छाड्यौँ । त्यसपछि त यो विषय नै आउन छाड्यो ।’
ओझाले सरकारी संयन्त्रसँग अल्पकालीन स्मरण देखिएको टिप्पणी पनि गरे । ‘३२ वर्षअघि प्रधानमन्त्रीस्तरमै भएको सहमतिलाई अहिले फेरि नयाँ भनेर दोहोर्याउनु सरकारी निकायको संस्थागत कमजोरी हो, सरकारी संयन्त्रसँग अल्पकालीन स्मरण रहेको देखियो । यसले त अलि अघि काम भएका कतिपय विषय बिस्तारै स्मरणमै नरहने जोखिम बढाएको छ,’ उनले भने, ‘एउटै परियोजना पटक–पटक उद्घाटन र शिलान्यास गरिरहने हाम्रो देशका शासक र प्रशासकका लागि कुनै देशसँग विगतमा भएको सहमति पटक–पटक दोहोर्याउनु नौलो पनि भएन ।’
कान्डला बन्दरगाहमा नेपालको पहुँचको विषय नयाँ भनेर प्रचार गर्नु पनि गलत भएको ओझाको टिप्पणी छ । ‘सार्वजनिक खपतका लागि मात्रै कान्डला बन्दरगाहमा पहिलोपटक नेपालको पहुँच पुगेको भन्दै प्रचार भइरहेको छ । यो पुरानै सहमति हो,’ उनले भने, ‘प्रत्येक सरकारले नयाँ बन्दरगाहका लागि सहमति गर्नुभन्दा पनि पुरानै बन्दरगाहको अधिकतम प्रयोगमा जोड दिनुपर्छ ।’
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पहिला नै पहुँच पाइसकेको विषयमा पुनः सहमति गर्नु नेपाली कूटनीतिक संयन्त्रको कमजोरी तथा भ्रमणअघि अनुभव भएका व्यक्तिहरूसँग सरसल्लाह नगर्ने परिपाटीको परिणाम भएको बताए । ‘कान्डला बन्दरगाहमा हामीले पहुँच पाइसकेका थियौँ, अहिले फेरि सहमतिमा यो उल्लेख हुनु हाम्रो कूटनीतिक संयन्त्रको कमजोरी हो । भारतको यो सरकारी बन्दरगाह हामीलाई आवश्यक छ, यसको पहुँच र प्रयोगले हाम्रो हित हुन्छ । यो बेग्लै कुरा हो, तर पहिलोपटक यो नेपालले प्राप्त गरेको भन्ने कुरा सही होइन,’ उनले भने, ‘म राजदूत हुँदा पनि यो बन्दरगाहमा हाम्रो पहुँच रहेको जानकारी थियो । यस्तो उच्चस्तरीय भ्रमणअघि पहिल्यै अनुभव भएका व्यक्तिहरूसँग सरसल्लाह नगर्ने परिपाटीको परिणाम यस्तो भएको हो । यो हाम्रो कमजोरी हो, कसैलाई दोष दिएर हुँदैन ।’
०५१ को द्विपक्षीय सहमतिका साक्षी तत्कालीन वाणिज्य, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भीम रावलका अनुसार प्रधानमन्त्री अधिकारी र भारतीय समकक्षी रावबिच भारतको राष्ट्रपति भवनमा भएको द्विपक्षीय वार्तामा कान्डला बन्दरगाहमा नेपालको पहुँच दिने सहमितले अन्तिम रूप पाएको थियो । ‘प्रतिनिधिमण्डलस्तरीय वार्तामा वाणिज्य राज्यमन्त्रीका रूपमा म पनि सहभागी थिएँ । दुई देशबिच विभिन्न चरणमा यसबारे छलफल भइसकेको थियो,’ उनले भने, ‘उक्त भ्रमणभन्दा अघि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा दुई देशबिच सीमा, जलस्रोत, सन्धि, पारवहनलगायत विषयमा एक प्रकारको सहमति भएको थियो । प्रतिनिधिमण्डलस्तरीय वार्तामा हाम्रा प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबिच कान्डला, मुम्बई र कलकत्ताका बन्दरगाह प्रयोगबारे भएको सहमतिले अन्तिम रूप पायो ।’
एमाले सरकार लामो समय जान नसकेपछि परिस्थिति आफूहरूको हातमा नरहेको रावलको भनाइ छ । त्यसपछि सहमति कार्यान्वयनका लागि फलोअप गर्न नसकिएको उनले स्वीकार गरे । तर, संस्थागत स्मरण गुमचुप राखेर लोभ्याइएका आधारमा जे प्रचार गरिँदै छ, यसले नेपालको राष्ट्रिय हित सुरक्षित नगर्ने उनले बताए । ‘अहिले नेपालले पहिलोपटक कान्डला बन्दरगाह पायो भनेर एकथरी मानिसहरू विगतको सहमति बिर्सेर खुसीले उफ्रिरहेका छन्, यो देखेर मलाई उदेक लाग्यो । संस्थागत स्मरण गुपचुप राखेर लोभ्याइएका आधारमा जे प्रचार गरिँदै छ, यसले नेपालको राष्ट्रिय हित सुरक्षित गर्दैन,’ उनले भने ।
तत्कालीन प्रधानमन्त्री अधिकारीको भ्रमण दलमा पत्नी साधना, तत्कालीन स्थानीय विकास तथा आपूर्तिमन्त्री सिपी मैनाली, उद्योग तथा जलस्रोत राज्यमन्त्री हरिप्रसाद पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मंगलसिद्धि मानन्धर पनि सहभागी थिए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने पछिल्लो सहमतिले कान्डला बन्दरगाहको प्रयोग र पहुँच कार्यान्वयन हुने गरी पारवहन मार्गका रूपमा नेपालले प्राप्त गरेको बताए । ‘३२ वर्षअघिको संस्थागत स्मरण नभएको भन्ने होइन, पहिले पनि सहमति भएको थियो भन्ने हामीलाई थाहा छ । यसबिच विभिन्न कारणले कार्यान्वयन बाँकी थियो । अब कान्डला बन्दरगाहको प्रयोग र पहुँच कार्यान्वयन हुने गरी पारवहन मार्गका रूपमा नेपालले प्राप्त गरेको छ,’ उनले भने ।
अर्कोतर्फ उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले कान्डला बन्दरगाहले पश्चिम क्षेत्रको व्यापारलाई सहज बनाउने बताए । ‘विगतमा भएका कुरालाई हेरिरहनुभन्दा पनि अहिले भएको सहमतिअनुसार अघि बढ्नुपर्छ । पश्चिम क्षेत्रको बन्दरगाह प्रयोग गर्न पाएपछि घुमेर कोलकाता र बिसाखापट्टनमसम्म आउनुपर्ने बाध्यतामा कमी आउने विश्वास छ,’ उनले भने । कान्डला सरकारी स्वामित्वको बन्दरगाह भएकाले कम शुल्कमा सेवा लिन सकिने उनले बताए ।
भारतसँगको सहमतिअनुसार विगतदेखि नै हल्दिया, कोलकाता र बिसाखापट्टनम बन्दरगाहमा नेपालको पहुँच छ । यसमध्ये सबैभन्दा बढी कोलकाता बन्दरगाहलाई नेपालले प्रयोग गर्दै आएको छ । पारवहन मात्रै नभएर भविष्यमा पश्चिम एसियाबाट नेपालीलाई पानीजहाजमार्फत उद्धार गर्नुपर्ने अवस्था आएमा पनि अरब सागरबाट नेपाल ल्याउन यही बन्दरगाह हुँदै नेपालीलाई सहज हुने नेपाली अधिकारीको बुझाइ छ । एक अधिकारीले भने, ‘अहिले हाम्रो प्रस्ताव सामानको आयात–निर्यातका लागि मात्रै होइन, पश्चिम नेपालमा रहेका नेपालीको सुरक्षा र हितसँग पनि सम्बन्धित छ ।’
वाणिज्यविज्ञसमेत रहेका पूर्वसचिव ओझाले भारतका तीन बन्दरगाहको अधिकतम प्रयोग गर्न सके अहिलेको तुलनामा धेरै लाभ लिन सकिने बताए । ‘३२ वर्षअघि प्रधानमन्त्रीस्तरमै भएको सहमतिलाई अहिले फेरि नयाँ भनेर दोहोर्याउनु सरकारी निकायको संस्थागत कमजोरी हो, सरकारी संयन्त्रसँग अल्पकालीन स्मरण रहेको देखियो । यसले त अलि अघि काम भएका कतिपय विषय बिस्तारै स्मरणमै नरहने जोखिम बढाएको छ,’ ओझाले भने, ‘एउटै परियोजना पटक–पटक उद्घाटन र शिलान्यास गरिरहने हाम्रो देशका शासक र प्रशासकका लागि कुनै देशसँग विगतमा भएको सहमति पटक–पटक दोहोर्याउनु नौलो पनि भएन ।’
यस्तो छ कान्डाला बन्दरगाह
गुजरातको कच्छ जिल्लास्थित गान्धीधामनजिकै रहेको कान्डाला भारतको सबैभन्दा ठुला बन्दरगाहमध्ये एक हो । भारत स्वतन्त्र भएपछि सन् १९५० को दशकमा निर्माण भएको बन्दरगाहले सन् २०२५/२६ को आर्थिक वर्षमा १५ करोड टनभन्दा बढी मालसामान व्यवस्थापन गरेर रेकर्ड कायम गरेको थियो । पश्चिमी भारतको प्रमुख बन्दरगाहका रूपमा विकास गरिएको कान्डालालाई निजी क्षेत्रले व्यवस्थापन गर्दै आएको छ ।
#nayapatrikadaily





प्रतिक्रिया