दार्चुला । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले देशभरबाट दुई सय वटा गन्तव्य स्थल छानिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाहरुको समन्वयमा विभिन्न परियोजना र आयोजनाहरु छनोट भएका हुन् ।
मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७१३ वटा प्रस्ताव परेकामध्ये दार्चुलाका तीन सहित देशभरीबाट दुई सय गन्तव्य छनोट भएको हो । सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।
आयोजनाका लागि सरकारले ६ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।
दार्चुलाका तीन योजनामा १२ करोड बजेट
पर्यटन मन्त्रालयको पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साँझेदारी निर्देशिका अनुसार दार्चुला जिल्लामा पनि तीन ओटा आयोजना छनौट गरिएको छ । मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिका गरी तीन ओटा स्थानीय तहमा झण्डै साढे तीन करोडदेखि पाँच करोड सम्मको लागत अनुमानका आयोजना छनौट गरेको छ ।
नौगाड गाउँपालिकामा चार करोड ९१ लाख लागत अनुमानको छिपुलथान डाइभरसिटी र्पाक निर्माण योजना छनौट भएको छ । मन्त्रालयको लागत तीन करोड ४४ लाख र साँझेदारी लागत एक करोड ४७ लाख रहेको छ ।
मार्मा गाउँपालिकामा तीन करोड ४३ लाख बजेट अनुमानको गुल्जर सांस्कृति तथा पर्यटकीय पूर्वाधार क्षेत्र विकास कार्यक्रम छनौट भएको छ । उक्त आयोजनामा मन्त्रालयको लगात दुई करोड ४१ लाख र साँझेदारी लागत एक करोड दुई लाख रहेको छ ।
अपिहिमाल गाउँपालिकामा पनि तीन करोड ६८ लाख लागत अनुमानको शिद्ध मकरीकोट देखि खण्डेश्वरी हुदै अपि बेस क्याम्पसम्म पर्यटकीय पदमार्ग योजना छनौट भएको मन्त्रालयले जनाएको छ । उक्त आयोजनाका लागि मन्त्रालयको लागत दुई करोड ५७ लाख ६० हजार रहेको छ भने साँझेदारी लागत एक करोड १० लाख ४० हजार रहेको छ ।

बैतडीका चार ओटा आयोजना छनौट भएका छन् ।
मन्त्रालयको पर्यटकीय गन्तब्य पूर्वाधार विकास गर्ने उद्देश्य अन्तरगत बैतडीको डिलाशैनी गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका र मेलौली नगरपालिकामा एउटा–एउटा आयोजना छनौट गरिएको छ ।
डिलाशैनी गाउँपालिकामा रुद्रेश्वर डिलाशैनी पदमार्ग निर्माणका लागि चार करोड ५७ लाख बजेट लागत अनुमान गरिएको छ । उक्त कार्यक्रका लागि मन्त्रालयको तीन करोड २० लाख र साँझेदारी लागत एक करोड ३७ लाख रहेको छ ।
त्यस्तै पञ्चेश्वर गाउँपालिकामा तीन वर्षे अवधारण अनुसार पञ्चेश्वर पर्यटन प्रबद्र्धन कार्यक्रमका लागि दुई करोड ९५ लाख बजेट अनुमान गरिएको छ । जुन आयोजनाका लागि मन्त्रालयको दुई करोड सात लाख र साँझेदारी लागत ८८ लाख बजेट रहेको छ । दोगडा केदार गाउँपालिकामा दोगडा धाम धार्मिक पर्यटन प्रबद्र्धन तथा पूर्वाधार निर्माण कार्यक्रमका लागि चार करोड ९७ लाख बजेट अनुमान गरिएको छ । जुन आयोजनाका लागि मन्त्रालयको तीन करोड ४८ लाख र एक करोड ४९ लाख बजेट साँझेदारी लागत अनुमान गरिएको छ ।
मेलौली नगरपालिकामा मेलौली भगवती मन्दिर जाने बाटो, मन्दिर पार्क निर्माण तथा परिसर घेरपर्खाल निर्माणका लागि सात करोड बजेट अनुमान गरिएको छ । उक्त आयोजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख र २ करोड ४५ लाख बजेट साँझेदारी लागत अनुमान गरिएको छ ।





प्रतिक्रिया