दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको झण्डै दुई हप्ता पुगेको छ । प्रहरीका उच्च अधिकारीहरूले आफैं घटनास्थलमा अनुसन्धान गरिरहे पनि अहिलेसम्म संलग्न कसैको पहिचान हुन सकेको छैन ।
दोगडाकेदारअन्तर्गत पर्ने साबिकको देउलेक गाविसमा यो घटना हुनुभन्दा अघि भएका पाँच जनाको हत्या घटनामा अनुसन्धान नै नभएको पाइएको छ । गुपचुपमा राख्ने गरिएकैले अपराधका घटनाले निरन्तरता पाउँदा भागरथीको हत्या भएको त होइन भन्ने टीकाटिप्पणी पनि हुन थालेको छ ।
दोगडाकेदार–७ मल्लागाउँका जयसिंह कार्की २०७४ भदौ १४ गते साँझतिर साथीभाइसँगै घरबाट पौने घण्टा पैदल हिँडेर दारकुडी मन्दिरमा मेला भर्न गएका थिए । राति मेलामा एक स्थानीयले कुटपिट गरिरहेको देखेपछि उहाँका भतिजा भोजबहादुरले जोगाएका थिए । त्यसपछि भोजबहादुर मेलामा आफ्ना साथीहरूसँगै रमाए । काका भने बीचमै छुटे । रातिको समय, बाक्लो भीडभाड । भोजबहादुरलाई काकाको वास्ता भएन । भोजबहादुरले सुनाए, ‘बिहान घर जाने बेला खोजी गर्दा त काका मेलास्थलनजिकै मृत अवस्थामा भेटिए ।’ त्यसबेला जयसिंह भर्खर २५ वर्षका थिए । जयसिंहको मृत्युपछि उहाँका श्रीमती र नाबालक छोराको बेहाल छ ।
हत्याको आशंकामा परिवारले जिल्ला प्रहरी कार्यालयमा तीन जनाको नाममा किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न मानेन । ‘घटनास्थलमा लछारेर शव फालिएको जस्तो देखिन्थ्यो । शरीरभर नीलडाम थिए । राति एक्कासि हामीबाट छुटेका काकाको हत्या गरिएको भए पनि प्रहरीले अनुसन्धान त के, जाहेरी नै दर्ता गरिदिएन । घटनाको अनुसन्धान हुनुपर्ने हाम्रो माग पनि कसैले सुनिदिएन,’ भोजबहादुरले भने । सरकारी वकिल कार्यालयमा जाहेरी लेखाएर तत्कालीन क्षेत्रीय प्रहरी कार्यालय दिपायल र काठमाडौंसम्म पठाए पनि कुनै खबर नआएको उहाँले सुनाउनुभयो ।
मृतकका बुबा गणेश कार्कीले किटानी जाहेरी दिएको उहाँले सुनाउनुभयो । ‘त्यतिबेला किटानी जाहेरी परेकालाई प्रहरीले सोधपुछका लागि जिल्ला प्रहरीमा पनि बोलाएन । भीरै नभएको ठाउँमा भीरबाट लडेर ज्यान गएको भनियो,’ भोजबहादुरले भने, ‘हामीलाई बरु केही दिन जिल्ला बोलाएर सोधपुछ गरे । जाहेरीमा किटान गरिएकाहरू खुलमखुला हुँदा हामीले डराउँदै हिँड्नुपर्छ ।’
दोगडाकेदार–७ रिखालीकी करिब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको २०६५ सालमा धारिलो हतियारले हत्या गरियो । घटना हुँदा उनी घरमा एक्लै थिइन् । छाना फुटाएर उनको हत्या गरी गहना झिकिएको थियो । उक्त घटनामा पनि अनुसन्धान भएन । हत्यारा अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । २०६३ सालमा रिखाली गाउँकै गगनसिंह कार्कीको शव बोरामा हालेर फालिएको अवस्थामा सडकमा फेला परेको थियो । स्थानीयका अनुसार गगनसिंहको शवलाई सनातन धर्म माध्यमिक विद्यालयको छेउबाट सडकमा खसालिएको जस्तो देखिन्थ्यो । तर घटनामा संलग्नको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको स्थानीय नवराज भट्टले बताउनुभयो ।
यी तीन जनाको हत्या घटनाअघि एक जना भट्ट थरका पुरुष र अर्का एक जनाको हत्या भएको स्थानीय बासिन्दा बताउँछन् । एउटै ठाउँमा भएका यी पाँचवटा हत्याका घटना हालसम्म गुपचुपमै रहेकाले आपराधिक मानसिकता भएका व्यक्तिहरूमा जे गरे पनि हुन्छ भन्ने सोच पलाएको नवराजको अनुमान छ ।
‘यसअघि भएका हत्या घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गरेको भए भागरथीको बलात्कारपछि हत्या घटना हुँदैनथ्यो कि ?’ उहाँले भन्नुभयो, ‘विगतका घटनामा प्रहरीले वास्ता नगर्नुमा घटनामा राजनीतिक पहुँच भएका व्यक्तिका आफन्त दोषी छन् ।’ अहिले त्रासले घटनाबारे खुलेर कसैले पनि बोल्न नसक्ने अवस्था गाउँमा रहेको उहाँको भनाइ छ । जति घटना भए पनि केही नहुने भएकाले आफूमाथि झमेला आइलाग्ला भनेर स्थानीयले बोल्न नचाहेको उहाँले बताउनुभयो ।
भागरथीका काका शिवराज भट्ट पहिलेदेखि नै गाउँका मानिसलाई दबाएर राखिएकाले कसैले पनि खुलेर बोल्न नसकेको बताउँछन् । उहाँले भन्नुभयो, ‘दुईरतीन वर्षयता मात्र गाउँलेले मुख खोल्न सुरु गरेका हुन् । तर भागरथीको हत्या घटनामा पनि गाउँलेले सुराक थाहा पाएर पनि डरले गुपचुपमै राखेका हुन सक्छन् ।’
प्रदेश प्रहरी प्रमुख भन्छन्– ‘पुराना घटनाको पनि अनुसन्धान गर्छु’
बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको घटना अनुसन्धानका लागि दोगडाकेदार–३ को खोचलेक प्रहरी चौकीमा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पुराना घटनाको पनि अनुसन्धान सुरु गर्ने बताउनुहुन्छ। उहाँले आफू आइसकेपछि स्थानीय र जनप्रतिनिधिबाट घटनाबारे सुनेको उल्लेख गर्दै दुइटा केसका सम्बन्धित व्यक्ति सोमबार आफूसँग छलफल गर्न आउने बताउनुभयो ।
डीआईजी सुवेदीले स्थानीय प्रहरीलाई प्रारम्भिक अनुसन्धान सुरु गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो। ‘पाँचवटा केस छन् भनिएको छ । रेकर्ड हेर्न लगाएको छु । यकिन भइसकेको छैन । केहीको जाहेरी दर्ता नभएको कुरा आएको छ । पछिल्लो घटनाको अनुसन्धान सक्नासाथ पहिलेका केसको अनुसन्धान पनि सकिन्छ,’ उहाँले भन्नुभयो । केही दिनसम्म दोगडाकेदारमै बस्ने र जनशक्ति थपेर भए पनि सबै केस टुंग्याउने गरी काम गर्ने उहाँले बताउनुभयो । ‘एउटै गाउँमा एकै प्रकृतिका पाँचवटा हत्या र गुपचुप हुनु ठूलो हो । यसलाई मैले निकै गम्भीर रूपमा लिएको छु,’ डीआईजी सुवेदीले भन्नुभयो । -यो समाचार आजको कान्तीपुर दैनिकमा प्रकाशित छ ।




