दार्चुला । भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टले प्रहरीलाई घटनास्थलमा खसेको घडी देखाएका छन्।
मंगलबार पक्राउ परेका भट्टले भागरथीको घडी घटनास्थल आसपासमै रहेको बताएपछि प्रहरीले खोजी गरेको थियो।
उनले भागरथीको जुत्ता भेटिएको ठाउँबाट पश्चिमतर्फ रहेको खोल्सामा घडी फालेको बताएपछि त्यहाँ पुगेको प्रहरी टोलीले फेला पारेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले पनि अभियुक्तले बताए अनुसार खोजी गर्दा घडी घटनास्थल नजिकै फेला परेको पुष्टि गर्नुभयो।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रमा बेपत्ता भएकी भागरथी भोलिपल्ट माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा दोगडाकेदार गाउँपालिकाको लबलेक सामुदायिक वनमा फेला परेकी थिइन्।
हत्या भएको दुई हप्तापछि प्रहरीले मंगलबार भागरथीकै भाइ नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय किशोर दिनेशलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो।
बयानका क्रममा अभियुक्तले भागरथीको हत्या गरेको स्वीकार गरेपनि बलात्कारको आरोप भने अस्वीकार गरेको प्रहरीले जनाएको छ।
उनले भागरथीको परिवारसँगको पूर्व रिसिवीका कारण आफूले हत्या गरेको समेत बताएका छन्। अभियुक्त सार्वजनिक गरेपनि आफन्तहरुले भागरथीको शव भने अझै बुझेका छैनन्। प्रहरीले उनीहरु शव बुझ्ने प्रक्रियामा रहेको बताएको छ।




