दार्चुला । सुर्तीजन्य पदार्थ देखि लागुऔषधको सेवनमा २० वर्षमुनिका युवा तथा किरशोरकिशोरीको सहभागिता बढेर गएको छ । स्कुल र कलेज तहका किशोर–किशोरीलाई सुर्तीजन्य पदार्थको लतमा पर्न नदिन चेतनामूलक कार्यक्रम सञ्चालन भएपछि व्यवहारीक र प्रभावकारी हुन सकेको छैन् ।
दार्चुला सदरमुकाम खलंगादेखि ग्रामिण क्षेत्रका युवाहरु धुम्रपान, मद्यपान र लागुपदार्थ सेवनको सिकार भएको पाइन्छ । जिल्ला सदरमुकाम खलंगामा माद्यमिक तहका विद्यार्थीहरु समेत धुम्रपान देखि लागुऔषध सेवन गर्ने गरेकोले कुलतबाट युवाहरुलाई मुक्त गराउन चुनौतीको विषय बनेको महेन्द्र नमुना माबिका शिक्षकहरुले बताएका छन् । प्रहरीले समेत खलंगाका विभिन्न क्षेत्रमा जम्मा भएर कुलतको सेवन गरिरहेका युवाहरुलाई सम्झाउने देखि कारवाही गर्ने प्रयास गरेपनि प्रभावकारी हुन नसकेको जानकारहरु बताउछन् । भारतीय सहर धारचुलासंग खुला सीमाना भएको कारण समेत दार्चुलामा लागुपदार्थको ओसारपसार तथा सेवन बढेको प्रहरीले बताएको छ ।
महेन्द्र नमुना माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले विभिन्न कार्यक्रमहरुमा युवा विद्यार्थी र किशोर अवस्थामा सुर्तीजन्य वस्तुको सेवनबाट बचाउनुपर्ने आवश्यकताबारे चिन्ता व्यक्त गर्दै आउनुभएको छ । प्रहरीको अगुवाइमा बिकृति र कुलत नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ । विद्यार्थी कुलतमा फस्नुको प्रमुख कारण संगतको लहैलहै र अभिभावकका साथै विद्यालय लगायत सरोकारवालाहरुको लापरवाही समेत रहेको छ ।
सार्वजनिक स्थानमा खुलेयाम धुमपान हुने गरेको छ । सरकारले २०६८ सालमै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन ल्याए पनि प्रभावकारी कार्यान्वयन भएको छैन । विद्यालय र कलेज पढ्ने बालबालिकामा चुरोट खाने प्रवृत्ति बढेको, त्यसपछि क्रमशः युवा दुर्व्यसनमा फस्ने तथा लागुपदार्थ सेवनमा लाग्दा घरपरिवार तथा राष्ट्रकै लगानी खेर जाने, दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनेजस्ता काम भइरहेको छ ।
सहज उपलब्धता एबं तरकारी र फलफुल तथा खुद्रा पशलहरुमा समेत धुम्रपानको खुलेयाम बिक्रिवितरण भएका कारण यसको प्रयोग झन बढेको छ । १६ वर्षमुनिबाटै धूमपान सिक्ने गरेको अध्ययनले देखाएको भन्दै विद्यालय तहलाई समयमै सम्बोधन गर्न ढिलाइ गर्न नहुने स्वास्थ्यकर्मीहरु बताउछन् । अहिले पनि सत्र वर्षमुनिका झण्डै १९ प्रतिशत किशोरकिशोरी त्यस्तो लतमा देखिएको बताइएको छ । त्यस्ता वस्तुको सेवनले क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग र अन्य धेरै नसर्ने रोग लाग्ने गरेको तथ्य भेटिएको छ ।
विश्वमा अहिले पनि एक अर्ब मानिस सुर्तीजन्य वस्तुको सेवनबाट नसर्ने प्रकृतिका जटिल रोग बोकेर बसेको विभिन्न अध्ययनले देखाउछ ।
विभिन्न पार्टी र उत्सबहरुको नाममा बालबालिकाहरुलाई धुम्रपान र मद्यपान गर्न सिकाउने वा वातावरण सिर्जना गर्ने जमातका कारण समेत कुलतमा फस्ने युवाहरुको संख्या बढ्दो छ । विद्यार्थी बालबालिकाहरुलाई कुलतबाट बचाउन सरोकारवालाहरुले समयमै ध्यान दिनु र जिम्मेवार बन्नु अत्यावश्यक रहेको छ ।





प्रतिक्रिया