दार्चुला । सुदूरपश्चिम प्रदेशभित्र कोरोना भाइरसले भयावह रुप लिन थालेपछि प्रदेशमा कार्यरत चिकित्सहरुले केहिदिनका लागि भएपनि लकडाउन गर्न सुझाब दिएका छन् ।

दैनिक हजारौँको संख्यामा सुदूरपश्चिम प्रदेशका सीमा नाका कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको जुलाघाट, दार्चुलाको खलंगा लगायत सीमा क्षेत्रबाट स्वदेश फर्कने नेपालीहरुको संख्या बढ्दै गएपछि सीमा क्षेत्रमा होल्डिङ सेन्टर नहुँदा गाउँगाउँमा संक्रमित पुगेकाले स्थिति भयावह बन्दै गएको भन्दै केहि दिनका लागि भएपनि लकडाउन गर्न चिकित्सकले सुझाएका हुन।

गाउँगाउँमा संक्रमितहरु पुग्न थालेपछि यतिबेला सेती प्रादेशिक अस्पताल धनगढी, महाकाली अस्पताल महेन्द्रनगर लगायत कोभिड अस्पतालहरुमा संक्रमितहरुको थामि नसक्नु भिड बढेको छ। यही अवस्था कायम रहने हो भने एक दुइ दिनभित्र अक्सिजन आपुर्तिमा समेत समस्या आउन सक्ने चिकित्सकहरुको चेतावनी छ।

दोस्रो चरणको कोरोना भाइरसले भयावह रुप लिइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको तयारी भने शुन्य जस्तै देखिएको छ। रोकथाम र सुरक्षाको काम स्थानीय सरकारको हो भन्दै कतिपय अधिकारीहरु जिम्मेवारीबाट पन्छिने गरेका हुन्। तर सुरक्षा सामवधानी समयमै नअपनाउने हो भने भारतको महाराष्ट्र, दिल्ली लगायत सहरको जस्तो अवस्था आउन सक्ने भन्दै चिकित्सहरुले जनशक्ति र आवश्यक सावधानमा जोड दिन सरकार समक्ष आग्रह गरेका छन्।

कोरोना भाइरसको जोखिम धनगढी, अत्तरिया, महेन्द्रनगर, टिकापुर हुँदै पहाडी जिल्लाका बजार क्षेत्रमा उच्च देखिएको छ।

सुदूरपश्चिमको एकमात्र कोभिड अस्पताल सेतीमा कोभिड संक्रमितले भेन्टिलेटर नपाइएको गुनासो छ। महाकाली अस्पतालबाट थप उपचारका लागि सेतीमा ल्याइएकी कञ्चनपुरको शुक्लाफँटा नगरपालिका वडा नम्बर १० झलारीकी कोरोना संक्रमित महिलालाई उपचार गर्न भेन्टिलेटर आवश्यक परेको तर सेतीमा भेन्टिलेटर नपाउँदा उपचारका लागि डडेल्धुरा अस्पताल जानु परेको संक्रमितका आफन्तले बताएका छन् ।

कोभिड बिरामीको उपचारका लागि सेतीमा ५ ओटा भेन्टिलेटर छन्। यस्तै महाकाली अस्पतालमा ६ ओटा र डडेल्धुरा अस्पतालमा २ ओटा भेन्टिलेटर छन् भने प्रदेशभर कोभिड उपचारका लागि १९ ओटा भेन्टिलेटर मात्रै रहेको सरकारी तथ्यांक छ।

यसैबिच कैलाली र कञ्चनपुरमा अत्यावश्यक कामबाहेक रातिको समयमा हिँडडुल गर्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

सोमबार धनगढीमा बसेको अन्तर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सुझावका आधारमा दुवै जिल्लामा राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अत्यावश्यक कामबाहेक जिल्लाभर कुनै पनि स्थानमा रातिको समयमा हिँडडुल गर्न नपाइने जानकारी दिनुभयो । त्यसका अतिरिक्त अन्य सयममा पनि बिना काम बाहिर ननिस्कन सार्वजनिक रुपमा आह्वान गरिने जोशीले बताउनुभयो ।

अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्रकै सुझावअनुसार दुवै जिल्लामा होटल तथा रेष्टुराहरु बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने, अन्य समयमा होम डेलिभरी गर्ने निर्णय समेत गरिएको छ ।

बैंक तथा वित्तीय संस्थामा भिडभाड हुन नदिने, उद्योग, कलकारखाना, निजी तथा सार्वजनिक निर्माणको काममा लगाइएका श्रमिकलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाउने निर्णय पनि दुई जिल्लाका प्रशासन कार्यालयले गरेका छन् ।

कैलाली र कञ्चनपुर जिल्लामा मंगलबारदेखि लागु हुने गरी शिक्षण संस्था समेत बन्द गर्ने निर्णय गरिएको छ । सो निर्णयअनुसार जिल्लास्थित विद्यालय, कलेज, ट्युसन सेन्टर,तालिम केन्द्र लगायतका सबै शिक्षण संस्था मंगलबारदेखि बैशाख ३१ गतेसम्म बन्द हुनेछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?