दार्चुला । कैलाली र कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा (लकडाउन) जारी भएको छ । फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागु गरिएको बताउनुभयो । उक्त अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै बन्द रहने सूचनामार्फत जानकारी गराइएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइशोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।
खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन्। विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।
यस्तै नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्। पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।





प्रतिक्रिया