दार्चुला । मालिकार्जुन गाउँपालिकाले गाउँपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरु अर्को सूचना जारी नभए सम्मको लागी बन्द गरेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर तिब्र गतिमा फैलिरहेकोले भौतिक उपस्थितिमा विद्यालयमा पठन पाठन तथा शैक्षिक गतिविधि गर्न गाउँपालिकाले रोक लगाएको हो ।
आज बसेको मालिकार्जुन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले तत्कालको लागी अर्को सूचना जारी नभए सम्म गाउँपालिका भित्रका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका कोभिड १९ सम्पर्क व्यक्ति किशोर सिंह नगारीले जानकारी दिनुभयो । बैठकले कोभिड १९ व्यवस्थापन केन्द्र सिसिएमसि र जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र डिसिसिएमसिको निर्णय कार्यान्वयका विषयमा विभिन्न निर्णय गरेको पनि उहाँले बताउनुभयो ।
काभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै विद्यालयमा भौतिक उपस्थितिमा बार्षिक परिक्षा सञ्चालन गर्न सम्भव नभएकोले गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयका विद्यार्थीको विद्यालयले आन्तरिक मुल्याङ्कन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । जसमा पुर्व परीक्षा फलको आधारमा ४० प्रतिशत, विषयगत परियोजना कार्यको आधारमा ४० प्रतिशत, विद्यार्थीको उपस्थितिको आधारमा १० प्रतिशत र अतिरिक्त क्रियाकलाप तथा अनुसाशनमा १० प्रतिशत गरि १०० प्रतिशतको विद्यालयले विद्यार्थीको मुल्याङ्कन गरि जेष्ठ ७ गते भित्र नतिजा सार्वजनीक गरिसक्नुपर्ने छ ।
यसैबिच मालिकार्जुन गाउँपालिकाले हाल सञ्चालनमा रहेको आधारभुत अस्पताल पस्तीलाई नै आइसोलेन बनाउने निर्णय गरेको छ । भारत लगायतका अन्य कोरोना प्रभावित क्षेत्रबाट फर्किने नागरिकलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा बसाल्ने, अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ ।





प्रतिक्रिया