दार्चुला । कोरोना भाइरसको दोस्रो लहर नेपाल सहित विश्वव्यापी रूपमा फैलिदै गएपछी नेपाल सरकारले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीको भौतिक उपस्थितिमा संचालन भइरहेका कक्षाहरू बन्द भएपछि सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसले भर्चुअल (अनलाइन) कक्षा संचालन गर्ने तयारी गरेको छ ।
क्याम्पसले एक सुचना जारी गर्दै आउदो बैशाख २२ गतेदेखि अनलाइन कक्षा शुरु गर्ने जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय कार्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा भइरहेको पठनपाठन तत्काल रोकेर वैकल्पिक माध्यमबाट कक्षा संचालन गर्न पत्राचार गरेको थियो । सोहीअनुरूप सुदूरपश्चिम विश्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसले पनि भौतिक उपस्थितीमा संचालन भइरहेका कक्षा बन्द गरेर बैशाख २२ गतेदेखि अनलाइन कक्षा शुरु गर्ने तयारी गरेको क्याम्पसका उप प्राध्यापक रमेशचन्द्र जोशीले जानकारी दिनुभयो ।
भौतिक उपस्थितिमा संचालन हुने कक्षाहरू भर्चुअल विधिबाट चलेपनी क्याम्पसले प्रशासनिक गतिविधि भने स्वास्थ्य मापदण्ड पालना गर्दै बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सुचारु रहने जोशीले बताउनुभयो । यसअघि सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस लगायत केहि क्याम्पसले अनलाइनमार्फत पठनपाठन शुरु गरेका छन् ।





प्रतिक्रिया