दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा ४८ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ ।
शनिबार महाकाली नगरपालिकाको धाप, दत्तु र काट्टैमा ४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । परीक्षण गरिएका ४८ जनामध्ये २३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन बिरेन्द्रराज भट्टले जानकारी दिनुभयो ।
यसअघि शुक्रबारसम्म दार्चुलामा २७ जना कोरोनाका संक्रिय संक्रमित रहेका थिए । महाकालीमा २३ जना थपिएसंगै दार्चुलामा संक्रिय संक्रमितको संख्या ५० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
पछिल्लो केहि दिन यता दार्चुलाको गाउँगाउँमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरू गाउँगाउँमा छन । शुक्रबार खरकडा स्वास्थ्य चौकीमा पाँच जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ । संकास्पद व्याक्तिहरुको प्रयाप्त परीक्षण भए धेरैमा संक्रमण पुष्टि हुने अवस्था रहेको छ । तर अधिकासं बिरामीको परीक्षण हुन सकेको छैन ।
‘हन्हन्ती ज्वरो आउने, रूघाखोकी, हात, खुट्टा र टाउको दुख्नेलगायत लक्षणका बिरामी गाउँगाउँमा थला परेका छन्, लेकम गाउँपालिकाका स्थानीय मनोज जोशीले भन्नुभयो, ‘हेर्दा, सुन्दा कोभिडकै जस्तो लक्षण देखिन्छ, तर न जाँच छ, न त उपचार नै । अधिकासं स्थानीय तहमा कोरोनाको लक्षणसंग मिल्दाजुल्दा बिरामी देखिएका छन् ।
खरकडा स्वास्थ्य चौकीका इन्चार्ज दामोदर जोशीले स्वास्थ्य चौकीबाट बिरामीको घरघरमा पुगेर जाँच तथा उपचार गर्न सम्भव नभएको बताउनुहुन्छ । उपकरण, जनशक्ति र औषधी अभावमा सबै बिरामीको घरमा पुगेर उपचार गर्न सकिने अवस्था नरहेको स्वास्थ्यकर्मीहरु बताउछन् ।
कोरोना महामारीको दोस्रो लहर डरलाग्दो रुपमा फैलिएको भारतबाट दार्चुलाका सयौँ नागरिक गाउँ फर्किएका छन् । भारतबाट कति जना गाउँ आएका छन् भन्ने समेत एकिन अभिलेख राखिएको छैन । पोहोर साल भारतबाट आउनेहरूको अभिलेख राख्दै उनीहरूलाई क्वारेन्टाइनको व्यवस्था भए पनि यो पटक निस्फिक्री आउन दिइएको छ । भारतबाट फर्किएकाहरु सिधै गाउँघरमा पस्दा कोरोनाको जोखिम झनै बढेको छ । बाहिरबाट आएकाहरु सिधै परिवारसंग घुलमिल भइरहेकोले झनै जोखिम बढेको स्थानीयहरु बताउछन् ।
दार्चुलामा हालसम्म ५० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । कोरोनाको दोस्रो लहर फैलिएपछि जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा संक्रमित फेला परिसकेका छन् ।
अस्पतालहरुमा शैय्या अभावमा संक्रमितहरूले भर्ना नै नपाउने अवस्था सिर्जना भएको छ । तराइका अस्पतालमा भर्ना भएका अधिकांश बिरामीको अवस्था जटिल भएकाले उनीहरूलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने भए पनि शैय्या अभावले समस्या परेको छ ।





प्रतिक्रिया