सुदूरमा अक्सिजन र जनशक्ति अभाव, गेटामा आइशोलेसन बनाउन निर्देशन

दार्चुला । कोरोना भाइरसको दोस्रो लहरसँगै सुदूरपश्चिमका अस्पताल संक्रमितले भरिन थालेका छन्।

कञ्चनपुरको महाकाली अस्पतालमा पनि अक्सिजन र जनशक्ति अभाव सुरु भएको छ।

झण्डै २ सय १४ जनाको दरबन्दी रहेको अस्पतालमा अहिले अस्पतालका डाक्टर लगायत नर्स र अन्य कर्मचारी गरेर २६ जनामा कोरोना संक्रमण पुस्टि भइसकेको छ। अस्पतालका झण्डै २ दर्जन बढी दक्ष जनशक्ति कोरोना संक्रमित हुँदा अस्पताललाई भने दैनिक बिरामी धान्न धौधौ परेको अवस्था छ।

अस्पतालमा जनशक्तिसँगै अक्सिजन अभाव हुँदै गएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो ।

महाकाली अस्पतालको आइसियू र आइसोलेसन कक्षमा ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। यस्तै ५५ जना कोरोना संक्रमित बाहेक २६ जना अस्पतालका कर्मचारी, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीको भने छुट्टै उपचार भइरहेको अध्यक्ष जोशीले बताउनुभयो ।

यता डडेल्धुरा अस्पतालले अक्सिजन अभावमा कोरोना संक्रमितको उपचार गर्न नसक्ने अवस्था आएको जनाएको छ। एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसियू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो।

डडेल्धुरा अस्पतालमा अहिले १६ जना कोभिड सक्रमित बिरामी छन्। तीमध्ये ३ भेन्टिलेटरमा छन् भने सबैलाई अक्सिजनमा राखिएको छ। अस्पतालमा आइसियू बेड ८ र एचडियू गरेर २१ बेड कोरोना संक्रमितका लागि तयार छ। डडेल्धुरा अस्पताल संघीय सरकार मातहत रहेको प्रदेशको एक मात्र अस्पताल हो।

यसैबिच सुदूरपश्चिम प्रदेशका सीमानाकाहरूमा भारतबाट फर्किने नेपालीहरूको संख्या झनझन बढिरहेका बेला कोरोना परीक्षणको लागि एन्टिजेन किटको चरम अभाव हुन थालेको छ।

पर्याप्त किट नहुँदा भारतका विभिन्न राज्यबाट फर्किएका नेपालीहरू सबैको परीक्षण हुन सकेको छैन भने, कोरोनाभाइरस सुदूरका गाउँगाउँ पुगेर स्थिति भयावह बन्ने चिन्ता बढेको छ।

सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भइरहँदा सीमानाकाहरूमा अझै सहज आपूर्ति हुन सकेको छैन।

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकाहरू कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको खलंगा पुलघाट नाका गरी दैनिक २ हजारदेखि २५ सयको संख्यामा नेपालीहरू भित्रिरहेका छन्। तीमध्ये निकै थोरै संख्यामा मात्र परीक्षण हुने गरेको पाइएको हो।

यसैबिच अस्पताल संक्रमितले भरिएपछि कोरोना संक्रमितका लागि कैलालीमा रहेको गेटा मेडिकल कलेजलाई आइशोलेसन बनाउन निर्देशन दिइएको छ।

शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कलेजका निर्माणधिन भवनलाई आइशोलेसन बनाउन निर्देशन दिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारीले खगेन्द्र रिजालले आइशोलेसन व्यवस्थापनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई जिम्मेवारी दिइएको बताउनुभयो । सोही निर्देशन अनुसार डीसीसीएमसीको मातहतमा रहनेगरी भोलिदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालेको उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?