दार्चुला । सुदूरपश्चिममा कोरोनाका कारण आठ दिनमा ४३ जनाको ज्यान गएको छ । गएको शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन् । ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८/१८ जनाको ज्यान गएको छ । डडेल्धुरा र अछामका २/२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १/१ जना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय सुदूरपश्चिममा संक्रमितको संख्या बढ्दै गएको छ । गएको २४ घण्टामा मात्र सुदूरपश्चिममा १० जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । कैलाली, कञ्चनपुर र डडेल्धुराका गरी १० जना संक्रमितले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कञ्चनपुरका पाँच, कैलालीका चार र डडेल्धुरामा एक संक्रमितको ज्यान गएको हो ।





प्रतिक्रिया