दार्चुला । बैतडीमा सोमबारदेखि निषेधाज्ञा जारी हुने भएको छ ।
आइतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गर्नुभएको हो ।
जिल्लामा कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो ।
सोमबार (भोली) बिहानदेखि जेठ २ गते राती १२ बजेसम्म जिल्लामा निषेधाज्ञा लागू हुने उहाँले बताउनुभयो। निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ, भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइनेछैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ देखि १० बजे सम्म मात्रै खोल्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।
यस्तै कुनै निर्माणका कामहरु गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिश गरेमा आवश्यकताका आधारमा ती कामहरु सञ्चालन गर्न दिने निर्णय भएको छ ।
यसैगरी विवाह,ब्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
कसैले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताइएको छ ।
बैतडीमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएपछि जनस्तरबाट समेत निषेधाज्ञा लागु गर्नुपर्ने आवाज उठेको थियो ।





प्रतिक्रिया