दार्चुला । कैलाली र कञ्चनपुरमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । महेन्द्रनगरको महाकाली अस्पतालमा आठ र धनगढीको सेती प्रादेशिक अस्पतालमा चार जना गरी थप १२ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एक/एक जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताउनुभयो ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली र बझाङका थप चार जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका– ४ का ८१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–६ की ५८ वर्षीया महिला, कैलालीकै जोशीपुर गाउँपालिकाका ६० वर्षीया महिला र बझाङको दुर्गाथलीकी ८२ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो ।
यसैबिच सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर गएको छ । राजधानी धनगढीका साथै कञ्चनपुरको महेन्द्रनगरसहितका ठूला शहर र घना बस्तीहरुमा कोरोना संक्रमण तीव्र फैलिएको छ ।
धनगढीको सेती प्रादेशिक अस्पताल संक्रमितले भरिएका छन् । सेती अस्पतालमा गतवर्ष स्थापना गरिएको कोभिड अस्थायी अस्पताल भरिएपछि संक्रमितहरुलाई इमर्जेन्सी वार्डमै राखेर उपचार गर्न थालिएको छ ।
‘बिरामीहरुलाई इमर्जेन्सी वार्ड, ग्यालरी र अस्पताल परिसरमा समेत राखेर उपचार गरिरहेका छौं,’ सेती प्रादेशिक अस्पतालको इमरजेन्सी वार्डका इन्चार्ज सिनियर अहेब भरत खातीले भन्नुभयो, ‘कोभिड अस्पतालबाहेक ३९ जना बिरामी छन् । सबैलाई अक्सिजन सपोर्टमा राखेका छौं । उनीहरुमध्ये ५/७ जनाको रिपोर्ट आउन बाँकी छ, अरु सबै संक्रमित हुन् ।’
सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले अवस्था नियन्त्रण बाहिर गइसकेको बताउनुभयो । यद्यपि स्रोत साधनको अभावका बीच स्वास्थ्यकर्मीले संक्रमितको ज्यान जोगाउने कोसिस गरिरहेको उहाँको भनाई छ ।





प्रतिक्रिया