दार्चुला । दार्चुलामा शनिबार राती थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घर भएका ७२ वर्षीय पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताउनुभयो ।
डाक्टर अन्सारीले भन्नुभयो, शनिबार राती ९ बजेर ३५ मिनेटमा नौगाडका एक ७२ वर्षीय पुरुषलाई आफन्तहरुले अस्पताल पुर्याएका थिए, उहाँको गोकुलेश्वर अस्पताल पुर्याएको ५ मिनेट पछि अर्थात ९ बजेर ४० मिनेटमा स्वास्थ्य परीक्षण गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो । उहाँको अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हुनसक्ने गोकुलेश्वर अस्पतालले जनाएको छ । अहिले शव पोष्टमाटम घरमा राखिएको डाक्टर अन्सारीले बताउनुभयो ।
मृतक पुरुषमा एन्टिजेन परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । गाउँमा पशल सञ्चालन गर्दै आउनुभएका संक्रमित पुरुषको भारतबाट फर्किएकाहरुसंग भेटघाट हुने गरेको आफन्तहरुले बताएका छन् । कोरोनाको लक्षण पनि देखिएकोले शरीरमा अक्सिजनको मात्रा कम भएकोले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
शवको व्यवस्थापनका विषयमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसंग छलफल भइरहेको डाक्टर अन्सारीले जानकारी दिनुभयो ।
यसअघि शनिबार विहान शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का एक महिलाको गोकुलेश्वर अस्पतालमा कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उहाँको शनिबार बिहान मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताउनुभयो ।
उहाँको अस्पताल ल्याउँदा शरीरमा अक्सिजनको मात्रा निकै कम ४५ प्रतिशत रहेको अन्सारीले बताउनुभयो । मृतकको स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गरी पारिवारिक संस्कार अनुसार नै अन्तेष्टी गरिएको छ । मृतक दमका बिरामी रहेको अस्पतालले जनाएको छ । उहाँको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
केहि दिन पहिले मार्मा गाउँपालिकाको लटिनाथमा एक कोरोना संक्रमित पुरुषको समेत ज्यान गएको थियो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।
हालसम्म दार्चुलाका तीन जनाको जिल्ला भित्र तथा चार जना संक्रमितको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका अधिकासं बिरामीहरु लक्षणसहितका भएकोले उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिन स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।





प्रतिक्रिया