दार्चुला । बैतडीको डिलासैनी गाउपालिकाले भोली देखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जिल्लामा कोरोना संक्रमित संख्या दिनानुदिन बढ्दै गएको र गाउँपालिकामा पनि यसको प्रभाव पर्न सक्ने भएकोले गाउँपालिकामा भोली देखि स्वास्थ्य बाहेकका सबै सेवा बन्द गरिने भएको हो ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागी जिल्ला प्रशासन कार्यालय बैतडीको आग्रहमा बैशाख २७ देखि जेष्ठ ६ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पंख बहादुर शाहले बताउनुभयो । यस्तै गाउपालिकाले गाउँपालिकासंग रहेका सबै सवारी साधन बिरामी बोक्न प्रयोग गर्ने निर्णय पनि भएको छ ।
गाउपालिका अध्यक्ष, उपाध्यक्षले प्रयोग गर्दै आएका र अन्य प्रयोजनमा रहेका सवारी साधनहरुलाई बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गरिने शाहले बताउनुभयो ।
गाउँपालिकाको एम्बुलेन्स संगै २ वटा बोलेरो जिपहरु पनि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका संकास्पद र बाहिरबाट आएकाहरुको कोरोना परीक्षण पनि गरिने भएको छ ।
अहिले सम्म गाउँपालिकामा एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । गाउँपालिकामा रहेका संकास्पद बिरामीको स्वाव संकलन गरि परीक्षणको तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गणेश सिंह बोहराले जानकारी दिनुभयो ।





प्रतिक्रिया