दार्चुला । बैतडीमा कोरोना जित्नेको संख्या बढ्दै गएको छ । आइतबार मात्रै बैतडीमा ११२ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयका सीआइसीटी सहजकर्ता बिनिता चौधरीले बताउनुभयो ।
जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएपछि कोरोना जित्नेको संख्या यो अहिले सम्मकै बढी भएको उहाँको भनाई छ । यसअघि शनिबार पनि ५३ जनाले कोरोना जितेका थिए । जिल्लामा जारी निषेधाज्ञाका कारण कोरोना संक्रमण कम हुँदै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जिल्लामा कोरोना जित्नेको संख्या बढ्दै गएपछि सक्रिय संक्रमितको संख्या घटेको छ । ‘निषेधाज्ञाका कारण स्वास्थ्यका मापदण्ड पालनामा पनि कडाई भएको छ । भीडभाड कम भएको छ । यसले गर्दा संक्रमितको संख्या केही कम हुन थालेको छ । केहीदिन यता संक्रमण भन्दा निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
आइतबार बैतडीमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । पाटन नगरपालिकाका ७, पुर्चौंडी र मेलौली नगरपालिकाका २÷२ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ८ सय ८ रहेको छ ।
सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६३ जना, पाटन नगरपालिकामा ११६ जना, सिगास गाउँपालिकामा १०१ जना, मेलौली नगरपालिकामा ५२ जना र सुर्नया गाउँपालिकामा ५२ जना रहेका छन् ।
यस्तै पुर्चौंडी नगरपालिकामा २९ जना, दोगडाकेदार गाउँपालिकामा २५ जना, पञ्चेश्वर गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा १७ जना र शिवनाथ गाउँपालिकामा १३ जना सक्रिय संक्रमित रहेका छन् ।





प्रतिक्रिया