घट्यो सुदूरपश्चिमका अस्पतालमा संक्रमितको चाप, जोखिम कायमै

दार्चुला । संक्रमितको उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आँगनमा गाडिएको टेन्ट हटाइएको छ । आँगनमा राखेर संक्रमितको उपचार गर्नुपर्ने अवस्था छैन । ग्यालरी दुरुस्त छन् । इमरजेन्सी वार्डमा उपचार गर्न आउने र भर्ना भएका संक्रमितको चाप कम भएको छ । कुनै दिन एउटै बेडमा दुई जना सम्म गरेर १६ शैयाको वार्डमा ४० देखि ४५ जनाको व्यवस्थापन गर्नुपर्ने झन्जटबाट अस्पतालले मुक्ति पाएको छ । यो जटिल खालको स्वास्थ्य समस्या भएका कोरोना संक्रमितको संख्या कम भएकै कारण सम्भव भएको हो ।

प्रादेशिक अस्पतालकाअनुसार अहिले कोभिड अस्थायी अस्पताल, इमरजेन्सी वार्ड र सर्जिकल वार्डमा ८२ जना संक्रमित उपचाररत छन् । उनीहरु मध्ये इमरजेन्सी वार्डमा १५ जना, सर्जिकल वार्डमा २० जना, आईसीयूमा १५ जना र कोभिड अस्थायी अस्पतालमा ३२ जनाको उपचार भइरहेको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो एक साताको अवधिमा दैनिक औसतमा १० जना संक्रमित डिस्चार्ज भइरहदा सोही हाराहारीमा भर्ना भएपनि गम्भीर संक्रमितको संख्या कम भएको उहाँले बताउनुभयो । अस्पतालमा संक्रमित कम भएसँगै अक्सिजनको माग घट्दा आपुर्तिमा पनि सहज भएको हो । त्यसैमा हाल अस्पतालमा ३५ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएकाले पनि खासै समस्या छैन् ।

सेती प्रादेशिक अस्पतालपछि व्यवस्थापकीय समस्या व्यहोरिरहेको कञ्चनपुरको महाकाली अस्पतालमा पनि पछिल्लो समय कोरोना संक्रमितको चाप कम भएको छ । दुई साता अघि उपचारका लागि पुग्ने संक्रमितको संख्या अहिले ५० प्रतिशतले कम भएको अस्पतालले जनाएको छ । जसमा गम्भीर संक्रमितको संख्या समेत कम भएका कारण अस्पतालले उपचारमा पहिले जस्तो समस्या भोग्नुपरिरहेको छैन ।

‘हामी कहाँ उपचारका लागि आउने संक्रमितको संख्या झन्डै ५० प्रतिशतले कम भएको छ,’ महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भन्नुभयो, ‘यसलाई सुखद पक्ष मान्नुपर्छ । सँगसँगै अर्को कुरा के छ भने विगतमा दैनिक ३० जना भर्ना हुन आउँथे । उनीहरु मध्ये ८० प्रतिशत केस गम्भीर खालका हुन्थे । तर अहिले झण्डै १५ जना आइरहेकोमा गम्भीर केस २ प्रतिशत मात्र छ ।’

प्राकृतिक रुपमा कोरोना भाइरस पनि कमजोर हुँदै गएको, मानिसहरुमा समयमै लापरवाही गर्नूहुँदैन् भन्ने चेतना बढेको र स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण थप संक्रमण फैलिन नपाउँदा संक्रमण दर कम हुँदै गएको डाक्टर रोकायाले बताउनुभयो ।

जिल्ला अस्पताल दार्चुलामा समेत वैशाख अन्तिम तिर संक्रमित भरिएर टेन्ट हालेकोमा अहिले संक्रमितको संख्या घट्दै गएको छ । दैनिक रुपमा निको हुनेको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

दोस्रो लहरको कोरोना भाइरस फैलिएदेखि सुदूरपश्चिम प्रदेशमा एकैदिन सर्वाधिक ३१ जनाको मृत्यु र ११ सय बढिमा संक्रमण पुष्टि भएको रेकर्ड छ । तर पछिल्लो केही दिनयता यहाँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागेको छ भने संक्रमण मुक्त हुनेको संख्या बढ्दो क्रममा छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार जेठ ६ गते सुदूरपश्चिममा ८ सय ४९ जना संक्रमित थपिएका छन् भने १० जनाको मृत्यु भएको छ। जेठ ७ गते एक हजार ९० जनामा संक्रमण पुष्टि हुँदा ११ जनाको मृत्यु भएपनि जेठ ८ गते संक्रमण घटेर ५ सय २३ जना थपिदा मृत्यु हुनेको संख्या १० मा झरेको छ ।

जेठ ९ गते अहिलेसम्मकै कम ३ सय ८४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । मृत्युदर न्यून हुन नसकेपनि झण्डै दुई गुणाले कम हुनुलाई स्वास्थ्यकर्मीले सुखद पक्ष भनेका छन् । क्रमिक रुपमा कम हुँदै जाने अपेक्षा पनि गरिएको छ ।

तथ्यांकमा संक्रमण र मृत्युदर तुलनात्मक रुपमा कम तथा अस्पतालहरुमा संक्रमितको चाप घटेको देखिए पनि जोखिम भने कायमै रहेको चिकित्सकहरु बताउँछन् । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमर सधै एउटै चरणमा नहरने कुनै पनि भाइरसको प्राकृतिक नियम भएको बताउनुभयो ।

‘कुनै पनि भाइरस एउटा चरणमा निश्चित बिन्दूमा पुग्छ त्यसपछि विस्तारै घट्दै जान्छ,’ डाक्टर कमरले भन्नुभयो, ‘यो प्राकृतिक नियम नै हो । संक्रमणदर कम भयो भन्दैमा कोरोना भाइरस नियन्त्रणमा आइसक्यो भन्ने हुँदैन् । यसको जोखिम अझै कायमै छ ।’

मानिसहरुमा रोग प्रतिरोधी क्षमता बृद्धि हुँदै जानू, सचेतना बृद्धि, निषेधाज्ञाका कारण मानिसको आवतजावत कम हुनु तथा कमजोर प्रतिरोधी क्षमता भएका मानिसको मृत्यु लगायतका कारण संक्रमण कम भएको उहाँले बताउनुभयो ।

‘तर पनि अहिले नै संक्रमण घट्यो भन्न मिल्दैन् । तथ्यांकले ओपीडीमा आउने केसहरु अलीकती कम भएको देखाएपनि अस्पतालमा जटिल संक्रमितको संख्या पनि उतिकै छ,’ डा. कमरले भन्नुभयो, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, उपचारका लागि तयारी त्यतिकै गर्नुपर्छ । यसलाई गम्भीर रुपमै लिनुपर्छ ।’ –अनलाइनखबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?