दार्चुला । दार्चुला र बझाङ्गमा यार्सा संकलन गर्ने ठाउँमा हिउँ परेपछि यार्सा संकलकहरू गाउँ फर्किन थालेका छन्।
अपिनाम्पा संरक्षण क्षेत्रले यार्सागुम्बा संकलन कार्यमा रोक लगाएपनि अपिहिमाल र व्यास गाउँपालिकाका सयौँ स्थानीयहरु यार्सागुम्बा संकलनका लागि हिमाली क्षेत्रका पाटनहरुमा पुगेको भएपनि हिउँ नपग्लीसकेको कारण यार्सागुम्बा नभेटिएको भन्दै केहि स्थानीय फेरी आउने भन्दै लेकबाट फर्किएका छन् ।
वैशाखको पहिलो साता यार्सा संकलनका लागि लेक पुगेका स्थानीयवासीहरू सो क्षेत्रमा हिउँ परेपछि घर फर्किन थालेको साइपाल गाउँपालिकाका गोबिन्द बोहराले बताउनुभयो ।
सुर्मा गाउँपालिकाको धाना, वारी कुण्ड चुवाबन, पल्लो खोलालगाएत बुंगल नगरपालिका र साइपाल गाउँपालिकाको यार्सा संकलन गर्ने सबै ठाँउमा हिमपातका कारण यार्सा संकलन गर्न गएकाहरू घर फर्किन थालेका हुन्।
केही दिन घर बसेर उनीहरू हिउँ पग्लिन थालेपछि पुनः यार्सा संकलनका लागि लेकतिर जाने यार्सा संकलकहरूले बताएका छन्।
यस वर्ष जलवायु परिवर्तनका कारणले पनि यार्सा संकलनमा कमी आएको बताइएको छ।
यार्सा पाइने ठाँउमा मानिसहरूको बाक्लो उपस्थिति हुनु र ती ठाँउमा विभिन्न प्लास्टिक, सिसा, जुत्ता, चप्पल, कपडा तथा फोहोरमैला बढेका कारण पनि यार्सा पाउने क्रम घटेको हो।
यार्सा संकलन गर्ने ठाँउमा फोहोरमैला नियन्त्रण गर्न बझाङ्गको एक गैरसरकारी संस्था सहारा नेपालले पहल सुरु गरेको संस्थाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताउनुभयो ।





प्रतिक्रिया