बैतडी । बैतडीका सरकारी कार्यालयहरुको सार्वजनिक सेवा आजदेखि सुचारु भएका छन् । कोरोना भाईरसका कारण गएको दुई महिना यता बन्द रहेका सार्वजनिक सेवा आजदेखि सुचारु भएका हुन् ।
स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो पारेसंगै सरकारी कार्यालयहरुबाट सबै प्रकारका सार्वजनिक सेवा सुचारु भएका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।
गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी भएपछि कार्यालयहरुले अतिआवश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए । आजदेखि निषेधाज्ञा खुकुलो पारेकाले कार्यालयहरुले सेवा दिन थालेका हुन् ।
यस्तै कोरोना भाईरसको जोखिम अझै पनि कम नभएकाले स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने काम शुरु भएको छ ।
आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन् भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिनेछ ।
यसैगरी बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ भने बिहीबार पाटन नगरपालिकाका नागरिकलाई सेवा प्रदान गरिनेछ । यसैगरी दशरथचन्द नगरपालिकाका नागरिकले शुक्रबार सेवा लिन पाउने प्रशासन कार्यालयले जनाएको छ ।
सेवा लिन आउँदा हरेक नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने सूचना अधिकारी भारतीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया