बैतडी । लगातारको बर्षाका कारण बैतडीमा एक घर पुरिएको छ । दोगडाकेदार गाउँपालिका ८ बुङाधार स्थित सेरुवा कामी र धने कामी बस्दै आएको घर पुरिएको स्थानीय गणेश पार्कीले बताउनुभयो। शनिबार राती घरमाथिबाट खसेको पहिरोले घरको छाना भत्काएपछि घरको एकतर्फको भित्ता पूरै भत्किएको उहाँले बताउनुभयो ।
रातीको समयमा घरमा पहिरो खसेपछि कोठामा सुतीरहेका धने कामी र रोशन पार्की समान्य घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । राती नै स्थानीयहरुको सहयोगमा उनीहरुलाई छिमेकीको घरमा सारिएको छ ।
यस्तै घरमाथिबाट खसेको पहिरोले जय पार्की र रमे पार्कीको घर पनि जोखिममा परेको छ । उनीहरुलाई पनि छिमेकीको घरमा सारिएको पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाजका अध्यक्ष गणेश पार्कीले बताउनुभयो ।
यस्तै पहिरोका कारण दोगडाकेदार गाउँपालिका ८को बल्लेखोला, ओसइल र कालापानी बस्ती पनि जोखिममा परेको छ । सो ठाउँमा पहिलादेखि नै पहिरोको समस्या रहेको र लगातारको बर्षाले फेरी पहिरो खस्न थालेको स्थानीयहरुले बताएका छन् ।
यस्तै बुङाधारमा खसेको पहिरोले गाउँमा जाने खानेपानी समेत अवरुद्ध भएको छ । पहिरोले खानेपानीको मेनलाइन भत्किएपछि मालथला, मान्लेक,चौंसिला, रीसा लगायतका ठाउँको खानेपानी अवरुद्ध भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया