काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ ।
साउन ३१ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग समितिले बुधबार छलफल गरेको थियो ।
समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको बताउनुभयो ।‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएका छौं’ घर्तीले भन्नुभयो, ‘सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउने व्यवस्था मिलाउन पनि सरकारलाई भनेका छौं ।’
शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन गरेको छ ।
बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भन्दै समितिले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । उनीहरुले यस वर्ष होम सेन्टरमै परीक्षा दिन पाउनेछन् ।
कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया