माल घटनामा भारतको दादागिरी, जयसिहको खोजिमा बुधबार ड्रोन प्रयोग गरिदै

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिदा यहि साउन १५ गते महाकालीमा वेपत्ता भएका व्यास गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसहि धामीको शव खोजि गर्न बुधबार मात्रै ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । नदीमा बगेका नागरिकको शव खोजि गर्न क्यामेरा समेत प्रयोग गर्न नदिने भारतले बेलाबेला नेपाली आकासमा हवाइ यन्त्रहरु उडाएर दादागिरी देखाउने गरेको छ ।

महाकाली नदीमा ड्रोनले शब खोज्न दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट नेतृत्वको प्रहरी टोली मंगलबार (आज) घटनास्थल तर्फ प्रस्थान गरेको छ । डिएसपी भट्ट नेपालको बाटो भएर तथा काठमाण्डौबाट आएको प्राविधिक टोली भारतको बाटो भई तिग्रम पुल तरेर तिग्रम हुदै नेपालतर्फ घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । १२ दिन पहिले बेपत्ता भएका जयसिहको खोजिका लागि महाकाली नदीमा ड्रोन क्यामरा प्रयोग गर्न भारतीय प्रशासनसंग जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहमति मागेपनि मंगलबारसम्म कुनै प्रतिक्रिया नआएपछि नेपालको नदी किनार क्षेत्रमा ड्रोनको सहायताले शबको खोजी गर्न प्रहरी टोली घटनास्थलतर्फ गएको हो ।

अहिले पनि नेपाली सुरक्षा निकायहरुले सीमा क्षेत्रमा खोजि जारी राखेका छन् । भारतले भने सहयोगको साटो हस्तक्षेपकारी भुमिका निर्वाह गरिरहेको छ । नेपाली छानविन समिति घटनास्थल गएको दिन भारतीय एसएसबीका अधिकारीहरु दलबलसहित समितिसंगै घटनास्थल गएका थिए । समितिले भारतीय पक्षसंग ठोस रुपमा जवाफ समेत माग्न नसकेको स्रोतको दाबी छ ।

घट्नाबारे छानविन गर्न दार्चुला पुगेको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समिति सोमबार बेलुकी फर्किएको छ । समितिले मंगलबार बैतडीमा जिल्ला सुरक्षा समितिसंग छलफल गर्नुका साथै झुलाघाट क्षेत्रमा शवको खोजि गरेको जनाएको छ । १७ गते गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा गठित छानविन समिति आठ दिनको दार्चुला बसाईपछि बैतडी हुँदै फिर्ता भएको हो । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घट्नाबारे जानकारी लिने र महाकाली नदीसँग सीमा जोडिएका जिल्लाहरुका सुरक्षा अधिकारीहरुसँग भेटघाट गरेर जयसिंहको खोजिका लागि समन्वय गर्ने जनाएको छ ।

जयसिहको खोजि गर्न ड्रोन क्यामरासहितको नेपाल प्रहरीको प्राविधिक टोली आइतबार नै दार्चुला पुगेपनि भारतको सहमति पर्खिएका कारण मंगलबारसम्म ड्रोन क्यामरा प्रयोग नगरिएको सुरक्षा स्रोतले जनाएको छ । सीमा क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्न दुबै देशको सहमती आवश्यक पर्छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई महाकाली नदी क्षेत्रमा ड्रोन क्यामरा प्रयोगका लागि सहमति माग गरेपनि मंगलबारसम्म जवाफ प्राप्त भइनसकेको छानविन समिति सदस्य एबं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिनुभयो । भारतीय पक्षले जवाफ नदिएपछि ड्रोन क्यामरा नेपालतिरकै भू–भागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी छ ।

व्याँस गाउँपालिका–२ मालघाट देखि दार्चुला सदरमुकामको २५ किलोमिटर क्षेत्रमा ड्रोन क्यामरा प्रयोग गर्ने तयारी छ । व्यवहारीक रुपमा कुरा मिलाएर ड्रोन क्यामरा प्रयोग गर्ने प्रयास भइरहेको सुरक्षा स्रोतले जनाएको छ । सरकारले छानविन समितिलाई दिएको म्याद सात दिन थपेको छ । सुरुमा १० दिनको समय तोकिएको थियो । तर घटनाको यथार्थ पत्ता लगाउन अझै केही समय लाग्ने भएकाले थप सात दिन समय थल्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । यो घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले मंगलबार सरकारलाई रुलिङ पनि गरेको छ । घटनाबारे आजसम्म पनि सत्यतथ्य छानविन गर्न नसकेको भन्दै राष्टिय सभामा सरकारको चर्को आलोचना समेत भएको छ ।

टोलीले दार्चुलाबाट जानु अघि प्रतिवेदन तयार गर्नुपर्नेमा गइसकेपछि प्रतिवेदन बनाउने कुरा आएकोले सत्यतथ्य छानविन हुनेमा आशंका उत्पन्न भएको नागरिक सामाजका प्रतिनिधिहरुले बताएका छन् ।

छानबीन समितिले दार्चुलामा बस्दा नेपाल र भारत दुवैतर्फबाट घट्नास्थलको निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयबासी, घट्नाका प्रत्यक्षदर्शी र सुरक्षा निकायसँग छलफल गरेर सूचना संकलन गरेको छ । पीडित परिवारलाई भेटेर समेत समितिले छलफल गरेको संयोजक गौतमले जानकारी दिनुभयो । सरोकारवालाहरुको सुझाव, सुरक्षाकर्मी र प्रतक्षदर्शीको बयानका आधारमा घटनाको बिश्लेषण गर्दै प्रतिवेदन तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?