सेती अस्पतालमा बढ्न थाले कोरोनाका गम्भीर विरामी

कैलाली । धनगढीको सेती प्रादेशिक अस्पतालमा जटिल समस्या लिएर उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

असारमा गम्भीर खालका संक्रमित नदेखिएपनि साउनको पहिलो सातादेखि अस्पतालमा गम्भीर खालका समस्या भएका संक्रमितको संख्यामा वृद्धि हुँदै जान थालेको हो ।

प्रदेशकै रेफरल अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित बढेका छन् । बुधबार मात्र अस्पतालमा ८ जना संक्रमित भर्ना भएका छन् । यो सँगै अस्पतालमा उपचाररत संक्रमितको संख्या २७ पुगेको छ । जबकी अघिल्लो दिन (मंगलबार) कोभिड अस्थायी अस्पतालमा १९ जना संक्रमितको मात्रै उपचार भइरहेको थियो ।

बुधबारसम्म अस्पताल भर्ना भएका २७ मध्ये ८ जना बाहेक अन्य १९ जना जटिल प्रकृतिका संक्रमित छन् । ‘असार अन्तिमतिर अस्पतालमा उपचारका लागि फाट्ट(फुट्ट मात्र संक्रमितहरु आउने गरेका थिए,’ अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भन्नुभयो, ‘साउनदेखि गम्भीर संक्रमितको संख्या बढ्न थालेको हो । अहिले बढीजसो अक्सिजन सपोर्ट चाहिने संक्रमित छन्।’

श्रेष्ठका अनुसार चार जनाको भेन्टिलेटर, दुईजनाको आईसीयूमा उपचार भइरहेको छ भने पाँच जनालाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । अन्य १० जना संक्रमितको पनि अक्सिजन सपोर्टमा उपचार भइरहेको छ।

पछिल्लो समय १० देखि १४ वर्ष उमेर समूहका बालबालिका पनि संक्रमित भएर उपचारका लागि अस्पताल पुग्न थालेको श्रेष्ठ बताउँछन् । तर अक्सिजन सपोर्ट बाहेक बालबालिकालाई आईसीयू र भेन्टिलेटरमा राखिएका उदाहरण भने छैन ।

मृत्यु हुनेक्रम पनि बढ्‍यो

झण्डै एक महिनासम्म कोरोना संक्रमणबाट मानवीय क्षति नव्यहोरेको सुदूरपश्चिम प्रदेशमा गम्भीर संक्रमित बढेसँगै मृत्यु हुने क्रम पनि सुरु भएको छ । अस्पतालमा २२ साउनमा एकैदिन दुई जना संक्रमितको मृत्यु भएको छ भने २५ साउनमा पनि एक जनाको मृत्यु भएको छ ।

संक्रमणबाट ज्यान गुमाउनेमा दुई जना युवक छन् भने एक वृद्धा रहेकी छन् । २२ साउनमा डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका-१ का ३३ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

२५ साउनमा कैलालीको जोशीपुर गाउँपालिका-२ का २८ वर्षीय युवकको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले यसलाई गम्भीर प्रकृतिको संक्रमण बृद्धिसँगै अगामी दिनमा मृत्युदर पनि बढ्न सक्ने संकेतका रुपमा बुझेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?