दार्चुला । भदौ १३ गतेको बाढीमा परि बेपत्ता भएका महाकाली नगरपालिका वडा नम्बर १ मलेराका शेरसिंह कार्की र हरक सिंह कार्की दाजुभाईका परिवारका बालबालिकालाई महाकाली नगरपालिकाले पढाई दिने भएको छ । शुक्रबार नगरप्रमुख हंसराज भट्टको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले बेपत्ता परिवारका बालबालिकालाई पठन–पठान गराइदिने निर्णय गरेको नगरप्रवक्ता पदम सिंह महरले बताउनुभयो ।
कार्यपालिकाको बैठकले बाढीले जमिन बगाएका परिवारलाई १ रोपनीको १० हजार तथा त्यो भन्दा कम क्षति भएका परिवारलाई ५ हजारका दरले राहत दिने निर्णय गरेको छ । बाढीले सो क्षेत्रका १४ ओटा पानी घट्ट बगाएको नगरपालिकाले जनाएको छ । घट्ट बगाउदा पिसानीमा समस्या भएको हुँदा तत्कालका लागि पिठो पिस्ने आधुनिक चक्कि नगरपालिकाले वितरण गर्ने भएको छ ।
यस्तै दुहुँ गाउँपालिकाले बाढी र पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई प्रति व्यक्ति रु ५० हजार र पूर्ण घर क्षति भएका परिवारलाई राहत स्वरुप २५ हजार दिने निर्णय गरेको छ । दुहुँ गाउँपालिका भरिका १ सय ५० घरधुरीहरु बाढी पहिरोका कारण विस्थापित हुनुपर्ने अवस्था रहेको भन्दै पीडित घरपरिवारहरुको पुर्नस्थापनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायमा माग गर्ने लगायत विभिन्न निर्णय गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया