दार्चुला । दार्चुलाको विभिन्न स्थानीय तहमा विद्यालयहरु सञ्चालन हुन थालेका छन् । लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका र मार्मा गाउँपालिका लगायत विभिन्न स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरिरहेका हुन् । डिसिसिएमसी बैठकले स्मार्ट लकडाउनको पालना गरेर स्थानीय तहको निर्णय अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेसंगै जिल्लाका सबै स्थानीय तह विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् ।
नौगाड र मार्मा गाउँपालिका शिक्षा शाखाले सोमबारदेखि स्वास्थ्य सतर्कता अपनाएर विद्यालय सञ्चालन भइसकेको जनाएको छ । लेकम गाउँपालिकाभित्रका सबै विद्यालयमा भदौ २५ गतेदेखि भौतिक उपस्थितिमै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन शुरु गर्न सूचना गरिएको लेकम गाउँपालिकाका शिक्षा शाखा संयोजक मोहनदेब बिष्टले जानकारी दिनुभयो । लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको धेरै पढाइ छुटिसकेकोले २५ गते देखि नियमित पठनपाठन शुरु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
यस्तै शैल्यशिखर नगरपालिकाका सबै सरकारी तथा निजी विद्यालय भदौ २३ गतेबाट खोल्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति दार्चुलाले भदौ २० गते बसेको बैठकले जोखिमको अवस्था हेरेर विद्यालय संचालन गर्न स्थानीय तहलाई जिम्मा दिने निर्णय गरेलगत्तै शैल्यशिखर नगरपालिकाले पनि सार्वजनिक सूचना जारी गरि भदौ २३ गते देखि पठनपाठन शुरु गर्न भनिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताउनुभयो । जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले आउदो भदौ २७ गते देखी विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।
सरकारले लागु गरेको स्मार्ट लकडाउनको पालना गर्दै विद्यालय सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । दार्चुलामा अहिले कोरोनाको उच्च जोखिम नरहेकोले विद्यालय सञ्चालन गर्ने सबै स्थानीय तहले बताएका छन् । जिल्लाका आठ स्थानीय तहमा हाल कोरोनाका सक्रिय संक्रमित सून्य रहेका छन । भने जिल्लामा ११ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया