दार्चुला । जिल्ला अस्पताल दार्चुला र बैतडीमा ठेकेदारको लापरवाहीले अक्सिजन प्लान्ट स्थापनामा ढिलाई भएको छ । गत असारभित्रै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि सम्झौता भएपनि अहिलेसम्म प्लान्ट जडानको काम गरिएको छैन् । हेल्थ केयर काठमाण्डौंसंग अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको तीन महिना बितिसक्दा समेत काम शुरु हुन नसकेको जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
अक्सिजन प्लान्ट स्थापनाका लागि हेल्थ केयरलाई बारम्बार ताकेता गरिरहेको भएपनि अहिले सम्म प्लान्ट स्थापना नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, हामीले शुरुमा असार मसान्तभित्र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरेका थियौं । पछि साउन मसान्त सम्मको म्याद मागेको थियो । त्यो समयमा पनि नभएपछि अहिले भदौ मसान्त सम्म भनेको छ तर भदौमा पनि होला जस्तो छैन् ।
१ करोड १८ लाखमा अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको डा. जोशीले बताउनुभयो । बाहिरबाट सामग्री नआएकाले ढिलो भएको जवाफ आउने गरेको छ, उहाँले भन्नुभयो, असोजको पहिलो साता प्लान्ट स्थापना हुन्छ कि आसा गरौं । नभए अर्को विकल्पमा जानुपर्ला । कोरोनाको दोश्रो लहर फैलिएपछि संघीय तथा प्रदेश सरकारले प्लान्ट स्थापनाका लागि रकम दिएको थियो । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा सिलिण्डरबाटै अक्सिजन पूर्ती गर्नुपर्ने अवस्था रही आएको छ । प्लान्ट स्थापना भएमा आवश्यकता अनुसार अक्सिजन उत्पादन गर्न सकिने डा. जोशीले बताउनुभयो ।
अहिले कोरोना महामारीसंग जुध्न अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी भएपनि यसले भोलीका दिनमा अन्य बिरामीहरुलाई पनि सहयोग पुग्ने चिकित्सकहरुले बताएका छन् । दार्चुला अस्पतालमा पनि असारमै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएकोमा दुई पटक म्याद थप्दा समेत जडान नभएको अस्पताल प्रशासनले जनाएको छ । चीनबाट सामाग्री समयमै नआएकोले जडानमा ढिलाइ भएको ठेकेदारको प्रतिक्रिया छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया